म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित न्यू वेष्ट पोइन्ट आवासिय माविले शनिबार सम्पन्न प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि जित्न स्ट्राईकर सरिता पटेलले निर्णायक भुमिका खेलिन् ।
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा उद्घाटन खेल देखि नै उत्कृष्ट लयमा रहेकी सरिता विद्यालयभित्र ’साम्बा’ को परिचय स्थापित भएकी उनी यसपटक खुल्लामञ्चमा आयोजक, अतिथि र दर्शकले समेत ’साम्बा’ भनेर सम्बोधन गरे ।
यसपटकको माविस्तरीय फुटबल प्रतियोगितामा सहभागि १० विद्यालयका खेलाडीमध्ये प्रतिभा र उचाइका आधारमा उनको नाम टप ५ भित्र नलिने हो भने अपुरो हुन्छ ।
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँकी १२ बर्षिया सरिता प्रतियोगितको सर्वाधिक गोलकर्ताको सूचीमा समेत परिन्। गाउँबाट कक्षा ३ मा वेष्ट पोइन्टमा प्रवेश गरेकी सरिताले विद्यालयभित्रको खेलमैत्री वातावरणलाई भरपुर प्रयोग गरिन् । उनको फुटबल प्रतिको मोह र खेल्ने शैलीबाट खेल शिक्षक दिपेन राईको समेत नजर पर्यो ।
म्याग्दीमा विद्यालयस्तरीय प्रतियोगितामा लामो समय एउटै खेल शिक्षक, धेरै उपाधि जित्नका लागि अथक मेहनत गर्ने राईले समेत पढाइसँगै खेलकुदमा दिएको समय, सीप र मैदानभित्र टिक्ने र जित्ने रणनीतिलाई यसपटक सरिताले सन्तुष्ट हुने गरी प्रयोग गरिन् ।
कक्षा ५ मा अध्ययनरत सरिताले गाउँमा समेत फुटबल खेलमा रुची देखाउने गर्दथिन् ।टिमवर्क र एट्याकिङमा रमाउने सरिताले खेलमैदानमा डिफेन्डर,मिडफिल्डर सहित प्रशिक्षकले दिएको पोजिसनमा उत्कृष्ट देखिन्छन् ।
यसपटक प्रतियोगितामा दर्शक र अतिथिको रोजाइमा परेकी खेलाडी सरिता गतबर्ष न्यू दोभान यूथ क्लवद्धारा आयोजित छात्रा फुटबल प्रतियोगितामा समेत उत्कृष्ट खेल प्रर्दशन गरेकी थिइन भने यसपटक राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा प्रतिस्पर्धा गरेकी थिइन् ।
न्यू वेष्ट पोइन्टमा सहायक प्रिन्सिपल कृष्ण जिसीले अहिलेसम्म विद्यालय बाहेक पर्याप्त लगानी नगरे पनि सरिताले उत्कृष्ट खेल देखाउन सफल भएको बताए। ‘काँचो माटोबाट कस्तो मुर्ती बनाउने भन्ने हामीमा भर पर्छ, अब प्रतिभावान खेलाडीमाथि लगानीमा कन्जुसाई गर्नु हुदैन’ जिसीले भने ।
उता लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष सोहन श्रेष्ठले यसपटकको प्रतियोगिताबाट छात्रा फुटबलका लागि आवश्यक प्रशिक्षणको सुविधा पाएमा प्रदेश र राष्ट्रियस्तरका खेलमार्फत आफ्नो भविस्य चम्काउने खेलाडीको अनुहार देखिएको बताउँछन् ।
जिल्लास्तरीय र बाहिरबाट आएका अतिथिले फाइनल खेलमा देखिएका उत्कृष्ट खेलाडीलाई आवश्यक प्रशिक्षण सहित प्रोत्साहनका कार्यहरूमा समेत सघाउने प्रतिबद्धता जनाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।