लायन्स क्लब अफ बेनी लभ्लीहिलको प्रथम लायन्स फुटबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी सज्जा पुन घोषित भइन् । खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलमा सज्जाको एट्याकिङ, बल ‘होल्ड’ गरेर खेल्न सक्ने क्षमताको धेरैले प्रशंसा गरे ।
प्रतियोगिताको बलियो दाबेदार मानिएको टिमसँग फाइनलमा टाइब्रेकरसम्म पुगेर क्रसबारमा लागेर बाहिरिएको एक प्रहारले उपविजेतामा सिमित भएपनि सज्जाले आफ्नो खेलमार्फत दर्शक, अतिथिको ध्यान तान्न सफल भइन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ घण्टीबाङकी सज्जा गतबर्ष न्यू दोभान यूथ क्लवले आयोजना गरेको विद्यालयस्तरीय प्रतियोगिताकी समेत उत्कृष्ट खेलाडी हुन् ।
सुर्यमान पुन र आमा याम कुमारी पुनको कोखबाट जन्मिएकी सज्जाले खेलमैदानमा आफ्नो समुहभित्रका क्षमताअनुसार रणनीति बनाउने र त्यसैमा सफलताका खोज्ने विशेषता रहेको विद्यालयका खेल शिक्षक प्रविण श्रेष्ठ बताउँछन् ।
‘खेलमा उत्कृष्ट प्रदर्शनमा केन्द्रित हुन्छिन्,‘मैदान भित्रका गल्ती पत्ता लगाएर सुधार गर्ने कला एकदमै राम्रो छ’ श्रेष्ठले भने । उनले पढाइमा समेत अब्बल रहेकी सज्जाले फुटबलमा निरन्तर ट्रेनिङको अवसर पाएमा फुटबलमा प्रसस्तै सम्भावना रहेको बताए ।
बेनी सामुदायिकले विगतका बर्षमा छात्रा फुटबलमा सहभागिता मात्रै जनाउने गरेपनि अनुभवी खेल शिक्षकको आगमनसँगै फुटबल सहित अन्य खेलहरूमा समेत सुधार गरेको छ ।
पालिका तथा जिल्लास्तरीय प्रतियोगितामा पदक सहितको तालिकामा सुधार गरेको विद्यालयले यसपटक माविस्तरीय छात्रा फुटबलमा अपेक्षा गरेभन्दा खेल प्रर्दशनमा सज्जा सहितका खेलाडीको योगदान रहेको छ।
‘सज्जाको खेल निकै उत्कृष्ट छ। विपक्षी खेलाडी छलाएर गोलको अवसर सिर्जना गर्न उनी माहिर छिन्‘ विद्यालयको टिमका लागि उनको योगदान अतुलनीय छ’ विद्यालयका प्रअ दिपक श्रेष्ठले भने ।
उनले हालसम्म फुटबलमा विद्यालयले पर्याप्त लगानी नगरे बताउँदै अवका दिनमा सज्जा जस्ता धेरै खेलाडी विद्यालयबाटै उत्पादन गर्ने गरी खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने बताए। फुटबलसँगै मार्सल आर्ट अन्तरगत तेक्वाण्डोको स्वर्णपदक विजेता तथा गतबर्ष गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा समेत सहभागिता जनाएकी सज्जाले प्रयाप्त अवसर सहित प्रशिक्षण पाएमा अझै राम्रो खेल्ने बताउँछिन् ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी बताउँछन् ।‘खेल सम्भावना भएका खेलाडीलाई स्थानीयतहबाटै प्रशिक्षणमा सघाउनुपर्छ,हामीले सिमिति स्रोतसाधनबाट सकेको गरेका छौ’ अध्यक्ष केसीले भने।
समितिमा सीमित बजेटबाट पनि गण्डकी प्रदेशमा विभिन्न खेलमा राम्रो नतिजा ल्याएको बताउँदै अध्यक्ष केसीले स्थानीय तहको बजेटमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिए नतिजाका लागि धेरै बर्ष कुर्न नपर्ने बताए ।