१७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पोखराको पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको छ।

पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा समावेश चारवटा खेलमा नै प्रतिभाले बलियो उपस्थिति जनाएको थियो। प्रतियोगिताको छात्र–छात्रा बास्केटबलमा प्रथम हुँदै ७–७ अंक, छात्र भलिबलमा प्रथम हुँदै ७ अंक, ब्यामिन्टन र टेबलटेनिसमा समग्रमा दोस्रो स्थानमा रही ५–५ अंक प्राप्त गर्दै कुल ३१ अंकका साथ प्रतिभा च्याम्यिन बनेको हो।

हिसान कास्की स्पोर्टस मिटको इतिहासमा हाल सम्मकै सर्वाधिक अंक प्रतिभाले प्राप्त गरेको छ। १५ औं र १६ औं हिसान स्पोर्टस मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रोपटक च्याम्पियन हुँदै हिसान स्पोर्टस मिटको ट्रफिमा समेत कब्जा जमाएको छ। त्यसअघि ग्लोबल कलेजियट र न्यू ग्यालेक्सीले ट्रफीमा कब्जा जमाएका थिए।

पोखरा रंगशालामा सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ५६–५० ले पराजित गरी पहिलो भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा ४० मिनेटसम्म बराबरी खेलेका दुबै टिमले थपिएको चार मिनेटमा प्रतिभाले बाजी मार्न सफल रह्यो। यस्तै मनकामना माविले तेस्रो स्थान प्राप्त गरेको छ। मनकामनाले कास्की मोर्डनाइज्डलाई पराजित गरेको हो।

प्लस टु छात्र भलिबलमा पनि प्रतिभा मावि नै पहिलो भएको छ। फाइनल खेलमा गुरुकल माविलाई २–१ सेटले पराजित गरेको थियो। फाइनलमा २५–२१ ले पहिलो सेट गुमाएको प्रतिभाले दोस्रो र तेस्रो सेट २५–१७ र २५–१४ ले जित दर्ता गर्न सफल भयो। त्यसै गरी न्यू ग्यालेक्सीले सिर्जना माविलाई २५–१६ र २५–१९ ले पराजित गरी तेस्रो स्थान हात पारेको छ। १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयका खेलाडीले विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा सहभागिता जनाएका थिए।

Leave a Reply