म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शनिबार विहानैदेखि बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ। पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए।

भक्तजनहरुलाई सहज रुपमा पुजा आराधना गर्ने वातावरण बनाउनका लागि लाइनमा बसेर पालैपालो पुजा गर्ने व्यवस्था मिलाइएको थियो । भक्तजनलाई नेपाल प्रहरी, जनपथ प्रहरी विद्यार्थी लगायत विभिन्न संघसंस्थाका स्वयंमसेवकहरुले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन् ।

पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए । शिवरात्रीका दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गरिन्छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने चलन छ । हजारौ भक्तजन भएपनि मन्दिरमा पूजाआजा र सुरक्षा रहेको, भिडभाडमा चोरी हुने जोखिमले स्वयंसेवक परिचालन गरिएको र मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका एक दर्जन भन्ना बढी सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिएको छ ।

अनुकुल मौसम र सहज ब्यवस्थानका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए । शनिबार करिब २० हजारभन्दा बढी भक्तजनले दर्शन गर्ने अध्यक्ष रेग्मीको भनाई छ ।

बालाचतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । शतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै शतबीज छर्ने चलन छ ।

बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपत क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ ।

द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आउँछन् । यसबर्ष करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको छ । गलेश्वरमा रातभरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन रहेको छ।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ। गलेश्वर मन्दिरमा कालिगण्डकी नदीबाट जल लिएर स्नान गर्ने सुविधाले समेत भक्तजनलाई सहज भएको छ ।

Leave a Reply