काभ्रेको बनेपादेखि रोग निको बनाउन भन्दै म्याग्दीको तातोपानी कुण्ड स्नान गर्न आउनुभएकी मिना कोईरालालाई पहिला दम र बाथ रोगको समस्या थियो । उहाँलाई बच्चादेखि नै पुरानो रोगको रुपमा दम थियो भने बाथ रोगले हातखुट्टा करक्कै खाने गर्दथ्र्यो । औषधी खाएर पनि रोग निको नभएपछि म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा लगातार पाँच वर्षसम्म स्नान गरेपछि उहाँलाई अहिले रोग सन्चो हुनुका साथै अस्पतालको औषधी खानुपरेको छैन ।
यस्तै बागलुङको काठेखोला गाउँपालिका–२, घर भई हाल काठमाडौं बस्ने शान्ति रानालाई भने घुँडा दुख्ने बाथरोग र ग्यास्ट्रिक सम्बन्धी रोग थियो । आफू सानो छँदा आफ्नी बजैसँग तातोपानी कुण्डमा आएर स्नान गर्न सुरु गर्नुभएकी उहाँले नियमितजसो तातोपानीमा नुहाउन थालेपछि अहिले ग्यास्ट्रिक र बाथरोग सन्चो भएको छ ।
उहाँले दुई वर्षअघि छोरीको अप्रेशन गरेपछि आफूसँगै तातोपानी नुहाउँदा राम्रो भएको हुँदा अहिले श्रीमानलाई समेत तातोपानी कुण्डमा स्नान गर्न सँगै लिएर आएको बताउनुभयो । आफूसँगै छोरीलाई पनि रोग निको भएर स्वास्थ्य राम्रो बनेको अनुभव सुनाउँदै उहाँले नियमित रुपमा आफू तातोपानी कुण्डमा आउने गरेको बताउनुभयो ।
बागलुङ नगरपालिका–३, बागलुङकी नन्दकली श्रेष्ठलाई पनि युरिकएसिड र थाईराइड सम्बन्धी रोगको समस्या थियो भने बेला बेलामा मेरुदण्डमा दुखाई हुन्थ्यो । यसका साथै उहाँलाई छाला सम्बन्धी एलर्जी रोगको समेत समस्या थियो। तीन वर्षदेखि अहिलेसम्म लगातार रुपमा तातोपानी कुण्डमा आएर स्नान गर्न थालेपछि उहाँमा युरिकएसिड, थाईराइड, ढाडको दुखाई तथा एलर्जीको समस्या निको भएको छ ।
काभ्रेकी कोईराला, बागलुङको राना र श्रेष्ठ तातोपानी कुण्डमा स्नान गर्ने केबल प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरु जस्तै वर्षेनी हजारौंको सङ्ख्यामा तातोपानी कुण्डमा स्नान गर्न, डुबुल्की खेल्न र नुहाउन आउने गरेको तथ्याङ्क छ ।
स्वदेश तथा विदेशका ठूल्ठूला अस्पतालमा पुगेर लाखौं रकम खर्च गर्दा पनि रोग निको नभएपछि तातोपानी कुण्डमा नियमित स्नान गर्दा रोग निको भएर बिरामीहरु घर फर्किने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ। जमिन मूनिबाट ५३ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ ।
म्याग्दीको तातोपानी कुण्डमा नेपालको ७७ वटै जिल्ला र विदेशबाट पनि बिरामी तथा सर्वसाधारण र पर्यटकहरु आएर स्नान गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।अहिले तातोपानी कुण्डमा दैनिक करिब ४ सयदेखि ५ सय जनासम्म बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले नियमित रुपमा नुहाउने गरेका छन् ।
तातोपानीको मुख्य पोखरीमा नुहाउनको लागि तीनसय ५० रुपैयाँको टिकट लिएर महिला, पुरुषले आ–आफ्नो पालोअनुसार नुहाउँछन् । यो टिकटले एक हप्तासम्म दैनिक रुपमा नुहाउन सकिन्छ । आवश्यकताअनुसार पुनः टिकट थप गर्ने व्यवस्था रहेको छ ।
यसैगरी कुण्डभन्दा बाहिर बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म प्रतिव्यक्ति एकसय र ४ देखि साँझ ९ बजेसम्म प्रतिव्यक्ति दुईसय रुपैयाँको टिकटमा दुई घण्टासम्म मज्जाले स्नान गर्न पाइन्छ । तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालयको उपचार स्थलको रुपमा विकास गर्न लागिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।