म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानाबाट प्रवासमा रहेका दानाबासीको साझा संस्था फ्रेन्डली ब्रदर दाना सेरोफेरोले सामाजिक संघसंस्थालाई ५ लाख सहयोग गरेको छ ।

गाउँमा आँखा शिविरमार्फत ५ सय जनाको सेवा र ३४ बिरामीको निःशुल्क शल्यक्रिया गरेको संस्थाले स्थानीय ज्ञानप्रकाश माविको अक्षयकोष, शिवालय मन्दिर, स्वास्थ्य चौकी र रुप्से यूवा क्लवलाई जनही १ लाख २५ हजारको दरले ५ लाख सहयोग गरेको संस्थाका निर्वतमान अध्यक्ष बलबहादुर पुर्जाले बताए ।

उनका अनुसार आँखा शिविरमा मजदुरी गर्न रोल्पाबाट आएका बिपन्न चुमान पुर्जाको थप उपचारका लागि २० हजार र स्थानीय सुजल पूर्जालाई ३० हजार सहयोग गरिएको छ ।

सन् २००५ सालमा स्थापना भएको फ्रेन्डली ब्रदर दाना सेरोफेरोले गाउँमा शिक्षा, स्वास्थ्य, विकास निर्माण सहित विभिन्न क्षेत्रमा करिब १ करोडभन्दा बढी सहयोग गरेको छ । गाउँमा हुने हरेक सामाजिक तथा विभिन्न अभियानमा प्रत्यक्ष सहभागिता जनाउने गरेको अध्यक्ष भिम बहादुर पूर्जाले बताए ।

यता ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्तबहादुर नेपालीले प्रवासमा रहेका दानाबासीको शैक्षिक क्षेत्रको विकासका लागि मेरुदण्ड जस्तै भएको बताए ।

‘शैक्षिक क्षेत्रमा सबैभन्दा धेरै सहयोग छ, हरेक अभियान प्रवासीको सहयोग विना सफल हुदैन’ प्रअ नेपालीले भने । ज्ञानप्रकाश माविको अक्षय कोष, छात्राबास सञ्चालन तथा विभिन्न पुरस्कारहरु प्रवासमा रहेका दानबासीको ब्यक्तिगत र संस्थागत अभियानमार्फत निरन्तरता पाइरहेको छ ।

Leave a Reply