म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता १० स्वर्ण सहित ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो ।प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई नगद ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, २ रजत र ७ कास्य पदक सहित उप–बिजेता बनेको मुक्तिमार्ग मावि घार र ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित तृतिय बनेको प्रभा मावि नारच्याङलाई क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए ।
प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी र विद्यालयलाई समेत नगद र ट्रफिद्धारा पुरस्कृत गरिएको थियो।चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका ३ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न २९ इभेन्टमा खेल प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगिताको विजेता ज्ञानप्रकाश मावि शैक्षिक र खेलकुदमा पालिकाभित्र मात्रै नभई जिल्लाभर नै अब्बल विद्यालयभित्र पर्छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश फगामी, ३ नम्बर वडाका वडाअध्यक्ष रमेश पुर्जा, वडा नम्बर ५ का वडा अध्यक्ष राजेश तिलिजा पुन, वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का लगायतले खेलाडी र विद्यालयका खेल शिक्षकहरुलाई पुरस्कार वितरण गरेका थिए ।
गाउँपालिकाबाट छनौट भएका खेलाडीहरुले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, रजत र कास्य पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने गाउँपालिकाले घोषणा गरेको छ ।