जिल्ला प्रशासन कार्यालय म्याग्दीमा असोज १४ गते जिम्मेबारी सम्हालेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्बन्धित स्थानीय तह तथा विषयगत कार्यालय बाहेक अतिरिक्त निवेदन बिनै सेवा पाउने ब्यवस्था मिलाए ।सेवाग्राहीलाई सरकारी निकाय बाहेक पनि थप निवेदनको भार बोकाउने विगतको प्रबृत्तिलाई तोडेका प्रजिअ ढकालले सेवाग्राहीले सिधै आफ्नो कार्यकक्षमा आएर गुनासो गर्ने ब्यवस्था मिलाएका छन् ।

सम्बन्धित निकायको सिफारिसमा टिकट टास गरेर पेश गरेको कागजातकै आधारमा सेवा दिन थालेपछि सेवाग्राही समेत सन्तुष्ट देखिन्छन् । ‘ सरकारी कागजमै अपुग भए थप गर्न लगाउँछौ, निवेदन लेख्दा झञ्जट, समय र आर्थिक खर्च हुने काम बन्द गरियो’ प्रजिअ ढकालले भने । सिफारिसमा १० को हुलाक टिकट टाँस गरेपछि सोही कागजातलाई निवेदनको मान्यता दिएर सेवा दिने ब्यवस्था मिलाएको प्रजिअ ढकालको भनाई छ ।

निवेदन लेख्ने निहुँमा बिचौलीयाको सहयोग लिदाँ अनावश्यक खर्च हुने, बिचौलियाले काम गरिदिने बाहनामा थप आर्थिक लिने जस्ता गुनासोहरूलाई निरुत्साहित गर्न सेवाग्राहीको सेवामा निवेदन नचाहिने ब्यवस्था मिलाएको प्रजिअ ढकालको भनाई छ ।

त्यस्तै राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता लगायत प्रशासनबाट हुने सेवामा सेवाग्राहीलाई लामो समयसम्म कार्यालयमै अल्झाउने प्रबृत्तिको समेत अन्त्य गर्ने गरी दैनिक कर्मचारीसँगको बैठक तथा सेवाप्रवाहका बारेमा नियमित छड्के सहितका कार्यहरुलाई समेत प्राथमिकता दिइएको छ ।

यसैबीच जिल्लाभित्र रहेका सरकारी कार्यालयको सेवालाई व्यवहारमै सुधार्नका लागि अवैध लेनदेन र ढिलासुस्ती शून्य बनाउन समेत प्रशासनले सक्रियता देखाएको छ । सेवाग्राहीको भिडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीलाई बिनाझन्झट छिटो, छरितो र विश्वसनीय सेवा दिन, कर्मचारी भए÷नभएकोसमेत हेर्ने र छिटो काम गर्न तत्कालै निर्देशन दिँदै आएका छन् ।

‘सेवाग्राहीको गुनासो भए सिधै मलाई ९८५७६२७७७७ मा सम्पर्क गर्नुहोला’ प्रजिअ ढकालले भने । जिल्लाका कार्यालय प्रमुखहरूलाई सेवा प्रभावकारी र पारदर्शी बनाउ नसकेमा कारण सहितको जवाफ हरेक कार्यालय प्रमुखको बैठकमा प्रस्तुत गर्न समेत प्रजिअ ढकालले निर्देशन दिएका छन् ।

जिल्लाको शान्ति, सुशासन र विकासप्रति स्थानीय राजनीतिक दल, समाजका अगुवाहरूको साथ र सहयोग रहेको बताउँदै प्रजिअ ढकालले सबै कार्यालयलाई सेवाप्रवाह हुने स्थानमा बिग्रिए वा आवश्यक भए तत्काल सीसीटीभी जडान गर्न समेत निर्देशन दिएका छन् ।

Leave a Reply