पोखरामास्थित एक निजी विद्यालयमा अध्यापन गराएर  परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठूलो बज्रपात पर्‍यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो । मास्टर्स इन इंग्लिश लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै र अध्यापन गराउने अनिताले पढाइका लागि अति आवश्यक परेर किनेको ल्यापटप बेचिन, र आमा गङ्गा दमाईलाई केमोथेरापी चढाईन् ।

गत भदौदेखि आमाको उपचारका लागि चितवन पोखरा गरिरहेकी जलजला गाउँपालिका वडा–७ मिलनचोक पर्वत निवासी उनकी आमालाई चार–चरणसम्म केमोथेरापीबाट उपचार गरेपछि पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ ।

शल्यक्रियाका लागि  न्यूनतम पाँच लाख खर्च आवश्यक पर्नेमा आफूसँग दाताहरूबाट प्राप्त २ लाख रुपैयाँ मात्र रहेको अनिताले बताईन् । तुरुन्तै शल्यक्रिया अर्थात् अप्रेशन गर्ने गरी तयारी गर्नु भनेर डाक्टरले आमाको भर्ना लिनु भएको हो, अब मैले बाँकी पैसा कहाँ बाट ल्याउने ? अनिता भक्कानिईन् ।

बुबा बिरामी भएपछि भएको घरजग्गाको लालपूर्जा गाउकै एक सहकारीमा धितो बन्धक राखेर ऋण लिई  उपचार गरेको केही महिना मै आमाको पाठेघरमा क्यान्सर देखिएपछि उनको धैर्यले ठाउँ छोडेको छ ।

जग्गा बेच्न सहकारीमा ऋण तिर्नु पर्छ, यता आफ्नो पढाई, जागिर, बिरामी आमा र जागिरको खोजीमा भारतमा भौँतारिएको भाइको दुःखले अनितालाई बेस्सरी गलाएपनि हिम्मत हारेकी छैनन् । हालसम्म आठ लाख रुपैयाँ खर्च भइसकेको छ । पाँच लाख विभिन्न व्यक्तिबाट ऋण लिएको र ३ लाख जति देश तथा विदेशबाट विभिन्न मनकारी व्यक्तित्वहरूको सहयोगबाट आएको उनले बताईन् ।

आर्थिक अवस्था कमजोर मात्र नभई आफ्नो परिवारसँग सहयोगको याचना गर्ने बाहेक अन्य कुनै विकल्प नरहेको उनले बताईन् । कसरी उपचार खर्च जुटाउने ? भन्ने पिरले उनलाई न दिनको भोक न रातको निद्रा बनाएको छ । आशा, भरोसा र भगवानसँग प्रार्थना गर्न बाहेक आफुसँग कुनै विकल्प नरहेको अनिताले बताउँछिन्  ।

उनले आमाको उपचारका लागि सहयोग गर्न चाहनेले अनिता दर्जीको एनएमबी बैङ्कको खाता नम्बर १२१०२००९४१७००१२, वा राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिने बताउँदै सहयोगका लागि याचना गरेकी छन् ।

Leave a Reply