‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबारदेखि पालिकास्तरीय अन्तर विद्यालयको बीचमा प्रतिष्पर्धा गर्नेगरी प्रतियोगिता सञ्चालन गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित विभिन्न ११ वटा विद्यालयहरु सहभागी बनेको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, कास्य र रजतपदक जित्ने अन्नपूर्णका खेलाडीहरुलाई जनही १५ हजार, १० हजार र पाँचहजार रुपैयाँ पुरस्कार दिइने घोषणा गरेका छन् ।
यसैगरी प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । त्यस्तै द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ४० र ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताएका छन् । प्रतियोगितातर्फ एथ्लेटिक्स, कबड्डी र भलिबल बिधाको ३० वटा खेलहरु हुनेछन् ।
आइतबार सम्पन्न १५ सय मिटरको दौडमा मुक्तिमार्ग माध्यमिक विद्यालय घारले छात्र÷छात्रामा स्वर्णपदक जितेको छ भने छात्रतर्फ शिख माविले कास्य र हिमाञ्चल माविले रजत तथा छात्रातर्फ ज्ञानप्रकाश माविले कास्य र शिख माविले रजतपदक जितेका छन् । एथ्लेटिक्स र कबड्डी कालीगण्डकी युवा क्लबको खेलमैदान तथा छात्रा÷छात्र भलिबल पोखरेबगर आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको छ ।
उद्घाटन कार्यक्रममा गरिएको मार्चपासमा सर्वोदय मावि भूरुङ–तातोपानी प्रथम, प्रभा मावि दोस्रो र हिमाञ्चल मावि तेस्रो भएका थिए । अन्नपूर्ण गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको अध्यक्षता, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनको स्वागत र सर्वोदय माविका प्रअ गोविन्द थापाको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।