म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्धारदेखि सोही नगरपालिकाको वडा नं २ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी-लभ्लिहिल-भकुण्डे सडक खुलेको १७ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय वितिसक्दा पनि राम्रोसँग सडक सुधार नहुँदा स्थानीयलाई बेनी-रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य हुनुपरेको छ ।

२०६५ सालमा ट्याक खुलेको बेनी–लभ्लीहिल-भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म पनि मोटर साइकल र ट्याक्टर बाहेक अरु सवारी साधनहरु संचालन हुन नसकेका स्थानीय कृष्णवहादुर घिमिरेले बताउनुभयो ।

सवारी साधन संचालन हुनेगरी सडक मर्मत नहुँदा स्थानीयलाई निकै सास्ती भोग्नुपरेको उहाँको भनाइ छ । २०६५ मा ट्रयाक खोल्ने काम भए तापनि बाटोमा सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको खबराका स्थानीयवासी चन्द्रवहादुर कार्कीले बताउनुभयो ।

“घरको छेउबाट सडक खुलेको १७ वर्ष भयो,अहिलेसम्म बेनीबाट जीप वा वसमा चढेर गाउँमा आउन पाइएको छैन” जिल्लाकै अगुवा कृषक समेत रहनुभएका कार्कीले भन्नुभयो “ खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकोमा बोकेर विक्री गर्न बजारसम्म लैजानुपर्छ,हामीलाई त सडक हुनु र नहुनुको कुनै अर्थ नै भएन ।”

समय सयममा सामान्य रुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधनहरु संचालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ । वर्षातको समयमा बाढी पहिरो तथा हिलाम्य र हिउँदको समयमा धु्लाम्य भएर पैदल र मोटरसाइकलमा पनि कठिन यात्रा गर्नुपरेको बेनी नगरपालिका २ सानालेखका नारायण शर्माले बताउनुभयो ।

साढे सात किलोमिटर कच्ची उक्त सडकमा जीप,वस लगाएतका यातायातका साधनहरु चल्न सक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो बाटो पार गरेर जीप भकुण्डेसम्म पुग्ने गरेका जीप चालक कृष्णबहादुर विकले बताउनुभयो । बाटोको समस्याकै कारण म्याग्दीको ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थल ज्यामरुककोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु बृद्धि हुन नसकेको र त्यहाँ जाने पर्यटकहरुले पनि सास्ती व्यहोर्नुपरेको स्थानीयको भनाइ रहेको छ ।

बाटोको मर्मत सुधार गरी यातायातका साधनहरु संचालन हुनसक्ने वनाउने सकेको खण्डमा ज्यामरुककोटका दैनिक पर्यटकहरु पुग्नुका साथै स्थानीयका लागि सामग्री खरिदमा सस्तो पर्ने तथा लामो दूरीका लागि पनि पटक पटक सवारी साधनको प्रयोग गर्न नपर्ने स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।

विसं २०६५ मा ट्रयाक खोलिएकोे साढे ७ किमी दूरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब रु एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने झनझन खराब हुँदै गइरहेको स्थानीयवासीको गुनासो छ ।

बेनी–भकुण्डे सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सानासाना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको पौडेलको भनाइरहेको छ ।

“मोटर साइकल र ट्याक्टरहरु पनि मुस्किलले सञ्चालन हुन्छन्, सडक बनेको १७ वर्ष बितिसक्दा पनि न यो सडकबाट कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक नै”, स्थानीय बुद्धिजीवी खिमबहादुर कार्कीले बताउनुभयो ।

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिको सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेको खबराका युवा उद्यमी शोभित सापकोटा बताउनुहुन्छ ।

नगरपालिकाको गेटदेखि हाँडेभिर, लम्भलीहिल हुँदै वडा नं २को भकुण्डेस्थित वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

वडा नं २ का वडाध्यक्ष यामबहादुर कार्कीले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वनक्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो । सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने तर नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको उहाँको भनाइरहेको छ ।

Leave a Reply