भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पहिलोपटक बाख्राको पेटमा पाठाको मृत्यु भई बिग्रिएको अवस्थामा निकालेको छ ।
बेनी नगरपालिका-६, का कृषक बालकृष्ण आचार्यले पालेको बाख्रा गर्भिणी भएको करिब साढे ६ महिनासम्म पनि बच्चा नपाएपछि परिक्षण गर्दा बच्चा मृत भेटिएपछि तत्काल माउ बाख्राको सफतापुर्वक बहिरङ्ग कक्षमा शल्यक्रिया गरिएको केन्द्रका योजना शाखा प्रमुख शुभाष रेग्मीले बताउनुभयो ।
‘पेटमै पाठा कुहिएको अवस्थामा भेटिएको थियो, यो केन्द्र स्थापनापछिको पहिलो सेवा होे’ अधिकृत छैठौं रेग्मीले भन्नुभयो । केन्द्रका प्रमुख डा. भरत रेग्मीको नेतृत्वमा बेनी नगरपालिकाका पशु शाखाका प्रमुख डा.आशिष सापकोटा, अधिकृत छैठौं प्रदिप गौतम सहितको टोलीले बाख्राको स्वास्थ्य परीक्षण गरी शल्यक्रिया गर्नुभएको थियो ।
‘माउको आस मारेको थिए, यस्ता सेवाहरू पनि बेनीमै उपलब्ध रहेछ’कृषक आचार्यले भन्नुभयो । म्याग्दीमा बाख्रापालकले गर्भिणी अवस्थामा लामो समयसम्म समस्या देखिएका बाख्रालाई समयमै चेकजाँच नगर्दा खोरमै मर्ने गरेको अवस्थामा यो सेवाले धेरै कृषकले राहत पाउने केन्द्रले जनाएको छ ।
केन्द्रमा अस्पताल विशिष्टिकृत सेवाहरु सम्बन्धित कक्षबाट प्रदान भइरहेको केन्द्र प्रमुख रेग्मीको भनाई छ। केन्द्रले मान्छेको जस्तै पशुका रोग पनि प्रयोगशालाबाट परीक्षण पश्चात उपचार गर्ने पद्धति सुरु गरिसकेको छ ।
केन्द्र र बेनी नगरपालिकामा लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेका अनुभवी दक्ष पशु चिकित्सक तथा प्राविधिकहरुको टोलीले पशुपालक कृषकको गोठमै पुगेर समेत जटिल उपचार तथा प्रयोगशालाबाट समेत पशु चिकित्सा सेवा दिइरहनुभएको छ ।
विगतमा पशुचौपायाको हेरेर वा छामेर गरिने उपचार पद्धति अहिले प्रयोगशालाबाट ल्याब सर्भिसबाटै रोग पत्ता लगाई उपचार गर्ने गरिएको छ । अहिले प्रयोगशालामा रगत परीक्षण गर्ने उपकरण मर्मतका लागि पठाइएपनि आधुनिक प्रविधिबाटै पशुचौपायाको उपचार सहित सेवा विस्तार भइरहेको केन्द्र प्रमुख रेग्मीको भनाई छ ।