देबी जिसी
हामी सजिलै भन्छौं जन्म लिएकै मर्नको लागि हो । तर, जसरी भनिन्छ त्यति सजिलो छैन मृत्यु सहन । मृत्युले उमेर हेर्दैन रहेछ, मृत्युले कसैको जीवन बाँच्दा उसको परिवारले साँचेको, बाँचेको खुसी हेर्दैन रहेछ । उसंग जोडिएका कति कुरा उसको मृत्युले खलबलाउछ त्यो कसैले भन्न सक्दैन । झन् अल्पायुको मृत्यु जस्तो पीडादायी मृत्यु अरु हुनै सक्दैन ।

शुक्रबार बिहान ५ बजिसकेको थियो । बिहिबार नै एउटा कार्यक्रमको लागि म्याग्दीको टोड्केमा म्याग्दीका पत्रकार उतैको बास बसिएको थियो ।

राति अबेर सम्म बसेकोले बिहानको सुर्योदय हेर्न सायद कसैलाई मन लागेको थिएन् । बाहिर अध्यारै थियो । मेरा श्रीमान ५ बजे नै उठ्ने बानी भएकोले किचनमा पुगेर तातोपानी तताईवरी लिएर आउनुभएको रहेछ । हाम्रो ढोका ढकढक्याउनुभयो । हाम्रो निद्रा खुल्यो ।

उहाँले एक थर्मस पानी दिनुभयो । मैले पानी पिएर मोबाइलमा डाटा तानेर फेसबुक हेर्न थालें । फेसबुक स्क्रोल गर्दै जाँदा संबिधान सभा सदस्य रेशम बानिया अंकलको पोष्ट देखें । म अक्क न बक्क भएँ । केहि भन्ने शब्द फुटेन, मुटु चिसो भएको महसुश भयो । खुट्टा लुला भए । उहाँले लेख्नुभएको थियो “हार्दिक श्रद्दान्जली बिमला गौचन दिदी !”

मैले पत्याउनै सकिन । फेरी अर्का एकजना जनप्रतिनिधिको पोष्ट देखे । अनि झन् सनसनी फैलियो । अँध्यारैमा बाहिर खलबली मच्चियो । हामी सबै स्तब्ध भयौं । बिहान ८ बजेबाट तालिम शुरु थियो तर हामी कोहि पनि तालिम शुरुगर्ने मनस्थितिमा थिएनौ ।

तैपनि नगरी सुखै थिएन् । एक मिनेटको मौन धारण सहित श्रद्दान्जली संगै कार्यक्रम शुरु भयो । दिन लामो लागिरहेको थियो । उहाँको अनुहार झल्झली आइरह्यो । एक हप्ता अगाडी संगै तातोपानी डुबेर उहाँकै गाडीमा बेनी फर्किएको …… पत्याउनै सकिएको थिएन ।

“जिउंदोको जन्ती र मर्दाको मलामी” यो उखान धेरै सुनिदै आएको छ । अन्तत यो यथार्थ पनि हो । जीवनमा धेरै कुरा गर्न नसकिएपनि मर्दा मलामी पाउने धेरैको आशा हुन्छ । मर्दा मलामी कमाउन धेरैले आहा ! भन्ने हुनुपर्दो रहेछ । २०८१ साल मंगसिर १ गते शनिबार बिरान्ती आन्टीलाइ ठुलो जनसागरले अन्तिम बिदाइ गर्यो यति धेरै मलामी मैले बेनीमा सायदै देखेकी थिएँ । म्याग्दी र कालिको दोभान साँघुरो भएको थियो ।

हिउँदको कालिगण्डकी उर्लेको थियो हजारौंको आँसुले । बेनीबजार शोक मग्न थियो । झ्याल, कौसी, बार्दली, बरण्डा, छत सबैतिरबाट रसिला आँखा शबतिर सोझिएका थिए । धेरैले भन्थे “यसरी मलामी कमाउन पनि सक्नु पर्दो रहेछ ।“ विरान्ती आन्टीले धेरै मलामी पाउनुभयो सबैलाई रुवाएर जानुभयो ।

मैले देख्दा र जाँदा उहाँ उस्तै हुनुहुन्थ्यो । सधै हँसिलो मुहार, जसलाई देखेपनि बोलाइ हाल्ने । निर्धक्कसाथ आफ्ना बिचार राख्ने, केही गर्नुपर्छ भन्ने हुट्टुटी भएकी । मेहनत गर्नुपर्छ भन्ने भावना सबैमा जगाउने एक साहसी महिला विरान्ती “बिमला गौचन” लाई हामीले गुमाएका थियौ ।

वि.सं. २०१८ असार ६ गते हालको थासाङ्ग गाउँपालिका वडा नं. २, नाउरीकोट, मुस्ताङमा जन्मिएकी विमला गौचनलाइ सबैले बिरान्ती भन्थे हामीले पनि त्यसै भन्थ्यौं ।उहाँको बाल्यकालको नाउँ विरान्ती रहेछ । उहाँको विवाह थासाङ गाउँपालिका राम गौचनका साथ भएको थियो ।

बेनीको कालिपुलमा उहाँहरुले गौचन गेष्ट हाउस सञ्चालन गर्नुभएको थियो । पछी उक्त होटेललाई विस्तार गर्दै बेनीबजारको न्यूरोडमा यति होटल नामांकरणका साथ अहिलेसम्म सञ्चालनमा छ । २०६४ मा उहाँका पति राम गौचनको अकल् पनीय निधनपश्चात् विमला गौचनले होटल ब्यबसाय, समाजसेवा राजनीतिलाई अगाडी बढाउदै लैजानुभयो ।

व्यवसाय राजनीति र समाजसेवामा सशक्त महिला जसले हामी जस्ता महिलाहरुलाई हौसला प्रदान गरिरहनु हुन्थ्यो । महिलाहरुलाई स्वावलम्बी र आत्मनिर्भर बन्न हौसला प्रदान गरिरहनुभयो ।

म्याग्दीमा पत्रकार महिलाहरुको संस्था संचारीका समूह म्याग्दीको स्थापना, यसको संस्थागत विकासमा संधै व्यक्तिगत, संस्थागत सहयोग र सल्लाह प्रदान एवं आर्थिक सहयोग गर्दै आइरहनुभएको थियो । राजनीति पेशागत विकास भन्दा पनि पत्रकार महिलालाई उहाँले अत्यन्तै फरक, समाजको अगुवा महिला हुनुपर्ने र सबै महिलाको आवाज बोल्न सक्नुपर्नेमा संधै हौसला र सहयोग गरिरहनुभयो ।

उहाँले गण्डकी प्रदेश सरकार समक्ष महिला शशक्तिकरण अन्तर्गत संचारिका समूह म्याग्दीलाई कार्यक्रम उपलब्ध गराउने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो । उहाँ आफु सहभागीहुने कार्यक्रममा जाँदा महिला पत्रकारलाई अनिवार्य साथ लिएर जानुहुन्थ्यो र संचारिका समुहलाई आर्थिक भौतिक रुपमा सधै सहयोगका साथै अभिभावकत्व प्रदान गर्ने व्यक्तिको निधनले हामी जस्ता महिला शशक्तिकरण लागेका अभियन्ताहरु टुहुरा जस्तै भएका छौं ।

जीवनमा मृत्यु एक मात्र सत्य हो । यसमा भन्नु केही पनि छैन । तर, बिरान्ती आन्टीको जीवनमा मृत्यु छिटो आयो । यो नै हाम्रो लागि ठूलो पीडाको विषय हो ।

भौतिक शरीर नभए पनि आन्टीको समाज प्रतिको माया र जिम्मेवारी, हामी अनुजप्रति हजुरको हौसला, स्नेह र मोह सधैं स्मरणीय रहनेछ । व्यक्तिगत रुपमा तपाईले प्रदान गरेको हौसला, उत्साह र सहयोग प्रति सदैव आभारी छु । मन भरी भैरहेको छ। तैपनि सबै सहनै पर्ने रहेछ । तपाईंको स्वर्गमा बास होस् । हार्दिक श्रद्धाञ्जली “बिरान्ती आन्टी ।“
लेखक सञ्चारिका समुह म्याग्दीको अध्यक्ष हुनुहुन्छ ।

Leave a Reply