बेनी-जोमसोम-कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित रुप्से झरनामा आन्तरिक पर्यटकहरुको भीड बढ्दै जान थालेको छ ।

देशका विभिन्न जिल्लाहरुबाट मुस्ताङ र म्याग्दीको घोडेपानी तथा पुनहिल लगायतका पर्यटकीय क्षेत्रहरुमा भ्रमणका लागि आएका आन्तरिक पर्यटकहरु ती ठाउँहरुमा जाँदा र फर्कदा सडकमै यातायातका साधनहरु रोकेर रुप्से झरनाको अवलोकन गर्ने गरेकाले रुप्से झरनामा भीड बढेको हो । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेका छन् ।

मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ । अग्लो पहाडबाट खस्ने यस झरनामा नजिकका ढुङ्गा र झरनाको पानीमा पर्यटकले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन् ।

कुनै षोडसी युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा युवतीले सम्हाल्न खोजेजस्तो आकर्षक दृश्य देखिने रुप्से झरनामा दैनिक चारसय बढी आन्तरिक पर्यटकहरु आउने गरेका दानामा होटल व्यवसाय संचालन गर्नुभएका सुवर्ण खत्रीले बताउनुभयो ।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । उक्त झरना र अन्धगल्छीमा पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् ।

झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था हुनुपर्ने पर्यटकको माग छ ।

१९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू-टावर निर्माण गरेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका वडाअध्यक्ष रमेश पुर्जाले रुप्सेको सौन्दर्यलाई जीवन्त राख्न र यसबाट लाभ लिन गाउँपालिकाले योजनाहरु बनाइरहेको र छिटै यस झरनाबाट स्थानीयले लाभ लिन सक्ने बताउनुभयो ।

झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्दछन् । प्राकृतिक सौन्यदर्यले पूर्ण रुप्से झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको स्थानीयको भनाइ रहेको छ ।

Leave a Reply