म्याग्दीका महिलाहरु पछिल्लो समय व्यावसायिक रुपमा अल्लो र ढाकाबाट कपडा निर्माण र विक्री गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।
गाउँघर तथा पाखो ठाउँमा उम्रिएर त्यत्तिकै खेरजाने गाउँले भाषामा (चाल्ने सिस्नो) भनेर चिनिने अर्थात् अल्लोको पुवाबाट महिलाहरुले विभिन्न किसिमका कपडाहरु निर्माण गरी आम्दानी गर्न सफल भएका हुन् ।
एक जना उद्यमीले मासिक रुपमा दुईसय मिटर अल्लोको कपडा निर्माण गरी प्रतिमिटर रु छ सयका दरले विक्री गर्ने गरेका छन् । यसरी प्रतिमहिना रु एकलाख २० हजार भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित हाँडेभीर नजिकै महिला उद्यमीलाई लक्षित गरेर साझा सुविधा केन्द्र (सिएफसी)को भवन बनाइएको छ ।
अहिले त्यसै भवनभित्र अल्लो उद्यमी विष्णु गुरुङको नेतृत्वमा महिलाहरुले अल्लो पुवाबाट कपडा तयार गरिरहेका छन् । हिमाली अल्लो कपडा उद्योग समूह दर्ता गरी उनीहरु त्यसै उद्योगमार्फत नियमित रुपमा अल्लो पुवाको उत्पादनमा लागेको बताउँछन् । साझा सुविधा केन्द्रको भवनभित्र मेसिनको सहायतामा तान लगाएर अल्लोको कपडा तयार गर्ने गरिन्छ ।
विगतको समयमा अल्लो कपडा उत्पादन गर्ने कच्चापदार्थ जिल्लाको ओखरबोट, गूर्जा, लुलाङ, रुम र निस्कोटबाट ल्याएर कपडा बनाए पनि अहिले भने कुईनेमङ्गलेबाट अल्लो पुवाको कच्चापदार्थ आयात गर्ने गरिएको महिला उद्यमी दिलु घतानेले बताउनुभयो ।
पछिल्लोपटक कुईनेमङ्गलेबाट खच्चडमार्फत अल्लोको कच्चापदार्थ मगाएर त्यसलाई प्रशोधनपछि धागो बनाई अल्लो कपडा उत्पादन भइरहेको छ । कुईनेमङ्गले पुगेर त्यहाँका स्थानीय महिलाहरुलाई अल्लो पुवाको बारेमा जानकारीसहित तालिम दिएर १० जनाको समूह गठन गरेपछि अहिले उनीहरुले अल्लो पुवा सङ्कलन गरेर पठाइरहेको छ ।
विभिन्न ७ जना महिला उद्यमीहरु आबद्ध यस अल्लो कपडा उद्योग समूहमार्फत साझा सुविधा केन्द्रको भवनमा अल्लो पुवाको सहयोगमा कपडा उत्पादनलाई निरन्तरता दिइएको छ ।
सामुदायिक वन क्षेत्रमा अल्लो पुवा सङ्कलन गर्नका लागि समूहमार्फत डिभिजन वन कार्यालयबाट अनुमति लिई केजीका हिसाबले शुल्क तिरेर अल्लो पुवा सङ्कलन गर्ने गरिएको छ ।
कुईनेमङ्गलेको समूहले अल्लो पुवा सङ्कलन गरी त्यसबाट धागो निकालेर सदरमुकाम बेनीमा पठाउने गरेको महिला उद्यमी समेत रहेकी उद्योगका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
महिला उद्यमीहरुलाई लक्षित गरेर निर्माण गरिएको सिएफसीको भवनमा अहिले चारजना महिलाहरुले दैनिकजसो अल्लो धागोबाट कपडा उत्पादन गरिरहेका छन् । एक महिनाको अवधिमा २०० मिटर अल्लोको कपडा उत्पादन गरी यस केन्द्रमा महिला उद्यमीबाट वार्षिक रुपमा २४ सय मिटर अल्लोको थान कपडा उत्पादन गर्ने गरिएको महिला उद्यमी गुरुङले बताउनुभयो ।
अल्लोको धागोबाट उत्पादित थान कपडालाई प्रति मिटर छ सय रुपैयाँको दरले बिक्री गर्ने गरिएको छ । यसबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता, चप्पल, सललगायत दैनिक उपभोग्य सामग्रीहरु बनाउने गरिन्छ । अल्लोको कपडा स्वास्थ्यबद्र्धक हुने भएकाले पनि बजारमा यसको माग उच्च रहेको छ ।