म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको ज्ञानप्रकाश माविमा आयोजित दुईदिने आँखा शिविरबाट करिब ५ सय लाभान्वित भएका छन्।
प्रवासमा बसोबास गर्ने दानाबासीको साझा संस्था फ्रेन्डली ब्रदर दाना सेरोफेरोले आयोजनामा शुक्रबार र शनिबार सञ्चालित शिविरमा ४ सय ८३ जनाले आँखाको जाँच तथा उपचार भएको छ ।
शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका ३४ बिरामीको निःशुल्क शल्यक्रिया र दुई बिरामीको आँखामा पलाएको मासु निकालिएको ज्ञानप्रकाश मावि दानाका उच्च मावि संयोजक बाबुराम पौडेलले बताउनुभयो ।
शिविरमा उपचारको क्रममा बिरामीलाई आँखाको हेरचाह, सुरक्षा तथा अन्य विभिन्न जानकारी समेत दिइएको थियो भने चस्मा वितरण गरिएको थियो।
श्री कृष्ण नेत्रालय प्रालि भैरहबाको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा अन्नपूर्ण गापा सहित विभिन्न जिल्लाबाट दाना आसपासका क्षेत्रमा ब्यवसाय, मजदुरीमा संलग्नहरूले समेत सेवा लिएको फ्रेन्डली ब्रदर दाना सेरोफेरोका निर्वतमान अध्यक्ष बलबहादुर पुर्जाले बताउनुभयो ।
‘घरदैलोमै आँखाको उपचार गर्न पाएपछि बिरामी उत्साहिन हुनुहुन्थ्यो, यसले आगामी दिनमा पनि शिविरको आवश्यकता देखियो’ पूर्जाले भन्नुभयो ।
आँखाका समस्या भएका बालबालिकादेखि बृद्धबृद्धालाई घरदैलोमै सेवा पु¥याउने लक्ष्यका साथ सञ्चालित शिविरमा जनचेतनाको अभावका कारण आँखा गुमाउने अवस्थामा बिरामी समेत भेटिएको तथा मोतियाविन्दुको शल्यक्रियाका बारेमा भ्रमका कारण समेत उपचारका लागि आनाकानी गर्ने बिरामी समेत भेटिएका थिए ।
दानाका वडा अध्यक्ष रमेश पूर्जाले कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यमा शिविरले भूमिका खेलेको बताउँदै अन्य संघसंस्थालाई समेत सहयोगका लागि अनुरोध गर्ने बताउनुभयो।
शिविरमा कृष्ण नेत्रालय प्रालिकी डा.सल्मा केसी, विद्यालयकै पूर्व विद्यार्थी डा.सुमिन्द्रा पुन सहितको टोलीले सचेतनामुलक जानकारी सहित विशेषज्ञ सेवा प्रवाह गर्नुभएको थियो ।
शिविरलाई वडा कार्यालय, ज्ञानप्रकाश मावि, दाना स्वास्थ्य चौकी, स्थानीय आमा समुह, युवा क्लव लगायतका संघ संस्थाले समेत सहयोग गरेका छन् ।
प्रवासमा रहेका दानाबासीको सक्रियतामा स्थापित फ्रेन्डली ब्रदर दाना सेरोफेरोले ज्ञानप्रकाश माविमा भौतिक पूर्वाधार सहित अक्षयकोष, छात्राबृद्धि सहित करोडभन्दा बढी सहयोग गरेको छ।