नविन जुग्जाली/बिम गाउँ भन्ने बितिक्कै एकताको प्रतिक भनेर बुझिरहँदा अतिशयोक्ति नहोला किनकी जब बिम गाउँमा कुनै किसिमको समस्या र चुनौतिहरु आईपर्छ तब देश परदेशमा रहनुहुने आम बिमाले एक ठाउँमा उभिएर उक्त समस्य र चुनौतिहरुलाई सजिलोसँग समाधान गरेका हुन्छन् ।

चाहे फरक धर्मका किन नहुन् चाहे फरक राजनीतिक आस्थाका किन नहुन्, चाहे विभिन्न जातजातिका किन नहुन् जब बिम गाउँले सभ्य समाज, समृद्ध समाजको लागि एउटा सुन्दर लक्ष्यको परिकल्पना र सपना ल्याउँछ तब होस्टेमा हैंसे गरी कम्मर कसेर सपना साकार पारेका हुन्छन् ।

यस्ता थुप्रै गौरवशाली योजनाहरुमध्ये प्रभुचेला धुरी ध्यानाश्रम निर्माण तथा पूर्वाधार विकासका योजना हालसालै सम्पन्न भएको छ भने अर्को नेपालका विभिन्न जिल्लाहरुबाट कृषि प्राविधिक शिक्षालयमा शिक्षा लिनका लागि आउनुहुने विपन्न, अनाथ तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगका लागि श्री किसानी सञ्जीवनी अक्षयकोष स्थापना भएको छ ।

लेखक नविन जुग्जाली 

यसरी अक्षयकोष स्थापना गर्नुको मूल उद्देश्य भनेको विपन्न, अनाथ तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगका लागि छात्रवृत्तिको दीर्घकालीन व्यवस्थापन गर्ने । अर्को वि.सं. २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए वि.सं. २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको कृषि प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा टेवा पुगोस् भन्ने हेतुले अक्षयकोषको स्थापना गर्नुपरेको हो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन्।

यस अक्षयकोषका रचनाकार श्री किसानी माध्यमिक विद्यालयका प्रधानाध्यापक जंगबहादुर गर्बुजा हुनुहुन्छ भने अक्षयकोषलाई समाजसेवी श्री दल जुग्जालीज्यू र विदेश आर्थिक अभियानका संयोजक एवम् समाजसेवी श्री कृष्णप्रसाद जुग्जालीज्यूले संयुक्त रुपमा रु.५,५५,५५५।– (पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) जम्मा गरी जग हाल्ने जस्तो सुन्दर कामको सुरुवात गरेका हुन् ।

यस सञ्जीवनी अक्षयकोषको आकारलाई बिस्तार गर्ने उद्देश्यले आफ्नै वडामा खेलिएको देउसीभैलो कार्यक्रममा निकै उत्साहजनक सहयोग रकम उठेको छ । अन्तिम दिनसम्म उठेको रकम रु.६०,६९,१२८।– (साठी लाख उनन्सत्तरी हजार एक सय अठ्ठाइस रुपैयाँ) उठेको छ । एउटा अंग्रेजी भनाई छ,Be Brave, take risks, nothing can substitute experience.।

यहाँ अक्षयकोषको परिकल्पनाकार तथा प्रधानाध्यापकज्यूले साहस गर्नुभयो, जोखिम उठाउनुभयो र सुखद एवम् सफलताको अनुभव गर्नुभयो । यसकारण अनुभव नै ज्ञान हो, ज्ञानले मनुष्यलाई चेतनशील बनाउँछ । यसर्थ यी सबै अनुभवबाट आउँछ । अनुभवका लागि साहस चाहिन्छ र जोखिम उठाउन सक्ने आँट चाहिन्छ । प्रधानाध्यापकज्यूसँग यी सबै थियो। यसैले आज उहाँको हातमा सफलता छ ।

यसै गरी राम्रा कामका लागि दिल र मुठी खुलाउन सक्ने मनकारी बिमाले देश विदेशमा यत्रतत्र सर्वत्र छन् । अघिपछिको दिनहरुमा फरक मतहरुमा देखा परे तापनि महान लक्ष्यका लागि एकमत छन् ।

यो नै बिम गाउँको मुख्य विशेषता हो । तथापि हामीले चुनौतिहरुमा खुट्टा कपाउनुपर्नेछैन । मुटुको ढुकढुकीमा अत्तालिनुपर्नेछैन किनकी गाउँप्रेमी साहसी नेपाली दाजुभाइ दिदीबहिनीहरु सदैव सहयोगको लागि तयार छन् । उहाँहरुको सहयोगी भावना र आस्थालाई मर्न नदिनका लागि कार्य क्षेत्रको वातावरण विश्वसनीय बनाउनु अति नै जरुरी छ ।

अन्तमा सञ्जीवनीको छोटो पौराणिक प्रसङ्ग जोड्न चाहन्छु । रामायणको कथा अनुसार भगवान श्री राम, लक्ष्मण, सीता चौध वर्ष वनबास जान्छन् । वनबासको समयक्रममा कुनै एक दिन लङ्काको युद्धमा रावणको आक्रमणमामा परी लक्ष्मण मृत्युशैयामा पुग्छन् । आफ्नो भाइको नाजुक स्वास्थ्यस्थिति देखेर अत्तालिँदै लङ्काका राजवैद्य सुषेणले सञ्जीवनी बुटीको सुझाव दिएका थिएलाई गुहार्छन् ।

तब वैद्यले सञ्जीवनी बुटी भेट्टाउन सकेको खण्डमा लक्ष्मण बाँच्न सक्नेछन् भनेको सुनेपछि भगवान रामचन्द्रले आफ्नो परमभक्त हनुमानलाई सञ्जीवनी बुटी खोज्न कैलाश पर्वतमा जान आज्ञा दिन्छन् । हनुमानले सञ्जीवनी बुटी ठम्याउन नसकेपछि सिंगो पहाड नै लिएर आएका थिए । त्यसपछि वैद्यले सञ्जीवनी बुटी लक्ष्मणलाई खुवाई बचाएका थिए ।

यस कथाको अनुसार सञ्जीवनीको अर्थ नयाँ जीवन प्रदान गर्नु अर्थात् सञ्जीवनीको संगत गर्ने मान्छे कहिल्यै मर्दैन । यस्तो खालको अर्थपूर्ण नामको अक्षयकोष नामजस्तै कहिल्यै मर्नेछैन । सदासर्वदा जीवन्त रहिरहनेछ ।

 

Leave a Reply