म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुका लागि परिवर्तित सन्दर्भमा न्यू मिडिया सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । बुधवार र बिहीबार जिल्लाको पर्यटकीय क्षेत्र टोड्के पुगेर पत्रकारलाई क्षमता विकासमा न्यू मिडियाको भूमिकाबारे तालिम प्रदान गरिएको पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ ।
तालिमको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उहाँले प्रविधिको बढ्दो प्रयोग भैरहेको वर्तमान अवस्थामा पत्रकार आफू पनि परिवर्तन भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षणात्मक मन्तव्यसहित नगर प्रमुख केसीले आफू विगतमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदाको अनुभव सुनाउँदै अहिलेको समय विज्ञान र प्रविधिको युग भएकाले युग सुहाउँदो पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
आज विश्व ग्लोबल भेलेजमा पुगेको भन्दै उहाँले अबको पत्रकारिता परम्परागत ढङ्गबाट अगाडि बढ्न नसक्ने भएकाले विज्ञान र प्रविधिको विकास सँगसँगै पत्रकार आफूले पनि सोही अनुसार आफ्नो पत्रकारिता पेशलाई रुपान्तरण गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अहिले पाठक, स्रोता र दर्शक लामा–लामा समाचार भन्दा पनि छोटा र सटिक समाचार तथा भिडियोतर्फ आकर्षित भैरहेको हुँदा पत्रकारले पनि पाठक, स्रोता र दर्शकको रुचिअनुसार पठनयोग्य सामग्रीहरु प्रस्तुत गर्नुपर्ने नगर प्रमुख केसीको भनाइ थियो ।
उहाँले बेनी नगरपालिकाले समग्र नगर क्षेत्रको विकास निर्माणसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पहिचान, पूर्वाधारको विकास तथा पर्यटन प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । उहाँले म्याग्दीको सदरमुकाम बेनीबजारमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकामार्फत आवश्यक पूर्वाधार निर्माणमा पहल भैरहेको बताउँदै यसका लागि सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताउनुभएको छ ।
तालिम उद्घाटनसत्रमा बेनी नगरपालिका–१०, पात्लेखेतका वडा अध्यक्ष मसविर रोका, रघुगंगा गाउँपालिका–५, झिँका वडाध्यक्ष मनबहादुर शेरमन्जा र टोड्के हिल रिसोर्ट प्रालिका सस्थापक÷सञ्चालक भीम शेरचनले मन्तव्य व्यक्त गर्दै टोड्केमा आयोजित पत्रकारहरुको तालिमले यस क्षेत्रको पर्यटन प्रवद्र्धमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।
तालिमको उद्घाटनसत्र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको तालिमको पोखराका पत्रकार एवं समाधान दैनिकका सम्पादक केशवसरण लामिछानेले समाचारलेखन, वर्तमान अवस्थामा न्यू मिडिया सम्बन्धी पत्रकारिता, यसको प्रयोग र महत्व, फिचरलेखनलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।
तालिममा म्याग्दी जिल्लामा क्रियाशील स्थानीय तथा राष्ट्रिय मिडियामा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै महासंघका अध्यक्ष पौडेलले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकाससँगै नयाँनयाँ विषयहरुलाई केन्द्रीत गरेर पत्रकारिता तालिम सञ्चालन गरिने बताउनुभयो । तालिमको सुरुवाती दिन बुधवार साँझ टोड्केमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।