१२ बर्ष अगाडी रोजगारीको शिलशिलामा मलेसिया पुगेका म्याग्दीको रघुगंगा गाउँपालिका–१, का मिमबहादुर राना मगरको मृत्यु भएको छ। प्यारालाइसेसबाट ग्रसित राना मगर विगत दुई महिनादेखि सिकिस्त अवस्थामा रहेपनि उद्धारमा समस्या भएको थियो ।
लामो समयदेखि गैरकानुनी रुपमा काम गदैं आउनु्भएका रानामगर अलपत्र परेको बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि मोना मलेसियाले उद्धारको अनेक प्रयास गरेपनि कम्पनीबाट असहयोग भएको थियो ।
गैरकानुनी रुपमा कार्यरत रहेको अवस्थामा प्रहरी सहित पुग्दा समस्या हुने र कम्पनीले समेत सिधै भेट्न नदिएपछि दुतावासलाई जानकारी गराइएपनि अहिले मृत्यु भएको खवर आएको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोकाले बताउनुभयो ।
‘अबैध बसेकालाई कम्पनी र प्रहरीको सहयोग आवश्यक पर्छ, अब शब नेपाल पठाउन पनि झन्झट भएपनि प्रयास जारी छ’ अध्यक्ष रोकाले भन्नुभयो ।
मृतकको शब नेपाल ल्याउनका लागि मलेसियन प्रहरीले वडा अध्यक्ष बिलबहादुर फगामीलाई सम्पर्क गरेपनि पासर्पोट सहितको अन्य कागजातको अभावका कारण समस्या भइरहेको छ ।
१२ बर्षसम्म परिवारको सम्पर्कमा नरहेका मृतक रानामगरका बारेमा मलेसिया प्रहरीले स्थानीय जनप्रतिनिधिमार्फत आफन्तको सहमतिमा शबलाई अस्पतालमा राखेको छ ।
मृतक रानामगर सुरक्षा गार्डको रुपमा पेनाङमा कार्यरत रहदाँ हात र कम्मर भन्दा मुनीको पुरै भाग नचल्ने अवस्थामा म्याग्दी र बागलुङका यूवाहरुले उद्धार गरेका थिए। मानसिक सन्तुलनमा समेत असर गरेको अवस्थामा भेटिनुभएका राना मगरको साथबाट भेटिएको घरायसी कागजात भेटिएपनि पासर्पोट सहितका कागजातका बारेमा खोजी गर्दा समेत भेटिएको थिएन ।