शिरानमा मालिका भगवतीको निवासस्थल पवित्र मालिका मन्दिर । पुछारमा विम बराह ताल । उत्तरतर्फ सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जंगल । चरा र जंगली जनावरको मीठो कोलाहल । वरिपरि देखिने बनफूल र कन्दमूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृश्य म्याग्दकिो मालिका गाउँपालिका वडा नै ७ मा पर्ने प्रभुचेला धुरीको हो ।

समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित यही प्रभुचेला धुरीमा अध्यात्म,मानसिक स्वास्थ्य र पर्यटनलाई सँगसँगै विकास गर्ने उद्देश्यले सामुदायिक ध्यान केन्द्रका लागि गोलघर (घुमाउने घर) सहितका संरचना निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको रु ५० लाख र प्रवासमा रहेका विमका स्थानीयहरुको रु २५ लाख सहयोगमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले जानकारी दिनुभयो । “निर्माण कार्य अन्तिम चरणमा छ, मेडिटेसनस्थलका पूर्वाधार निर्माण सकिएको छ । भोजनालय निर्माण र गोलघर भित्र काठ विछ्याउने काम बाँकी छ” अध्यक्ष जुग्जालीले भन्नुभयो ।

उहाँकाअनुसार गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत प्राप्त भएको रु ५० लाखको बजेटले ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । त्यसैगरी विमका वासिन्दाहरुले देश विदेशबाट पठाएको रु २५ लाख रकमबाटगोलघर (ध्यान केन्द्र) निर्माण गरिएको हो । ध्यान केन्द्र (गोल घर) परिसरमा तीन सय मार्फाको धुपी र एक सय घोडेपानीको गुराँसका विरुवा रोपिएको अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।

“परापूर्वकालमा ऋषिमुनिहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेका विभिन्न अध्ययनबाट तथ्य पहिचान भएका छन् । यस क्षेत्रको संरक्षण, प्रवर्द्धनसँगै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ”, अध्यक्ष जुग्जालीले भन्नुभयो “यहाँ विसं १९७० देखि १९७५ सम्म स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले तपस्या गर्नुभएको थियो ।”

शहर र वस्तीदेखि टाढा,जंगलको बिचभागमा अवस्थित अत्यन्त उपयुक्त प्रभुचेला धुरीमा परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका तथ्यहरु यहाँ अहिलेसम्म पनि देख्न सकिन्छ । यस्तो प्राचिन र रमणीय स्थानमा तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान केन्द्र निर्माण गरेर अध्यात्म र पर्यटनलाई जोड्ने काम भइरहेको दरबाङ बजारका भरत सुवेदीले बताउनुभयो ।

प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाका अनुसार प्रवासमा रहेका बिमवासीले जुटाएको रु २५ लाखबाट गोलो आकारको ध्यान गर्ने भवन भित्रै मञ्चको पनि व्यवस्था गरिएको छ । स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर निर्माण गरिएको गोलघरले नेपाली प्राचिन मौलिकतालाई पनि झल्काउने र पर्यटकहरुलाई पनि आकर्षित गर्ने किसिमले निर्माण गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्ष उपलव्ध गराएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको र यहाँ रहेका कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको सचिव गर्बुजाले बताउनुभयो ।

यहाँबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाइन्छ । बिमको सेराङबाट प्रभुचेला धुरीसम्म सडक जोडिएको छ । मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट उक्त सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत करिव चारघण्टामा प्रभुचेला धुरीमा पुग्न सकिन्छ ।

यहाँ कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नावशेष अझै रहेका स्थानीय बताउँछन् । यहाँबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाइन्छ । मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङबाट प्रभुचेला धुरीलाई सडकले जोडिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

Leave a Reply