इमान्दारिताको खडेरी लागेको बेलामा सार्वजनिक ठाउँ, होटल र अन्य कुनै ठाउँमा हराएको पैसा, बहुमुख्य गरगहाना हत्तपत्त फिर्ता पाउन सकिन्न। भेटेपनि सम्वन्धित व्यक्तिलाई खोजेर फिर्ता गर्ने इमान्दारिता प्रस्तुत गर्ने जो कोहीमा हुन्न। म्याग्दीको मंगला गाउँपालिका–१,पैयूँपाटाकी शान्त बस्यालले बावियाचौर बजारमा भेटाएको करिब एक तोलाको सिक्री सम्वन्धित धनीलाई फिर्ता गर्नुभएको छ।
मंगला–५,सिरकुमकी रुपा कामीलाई प्रहरी चौकीमा पुगेर हस्तान्तरण गर्नुभएको मंगला गाउँपालिकामा रोजगार शाखा संयोजक ज्ञानेन्द्र आचार्यले बताउनुभयो । ‘भेटाउनेलाई पुरस्कार स्वरुप ३ हजार हस्तान्तरण गर्नुभयो, यो नै इमान्दारिताको नमुना हो’ आचार्यले भन्नुभयो ।
सिक्री भेटाएपछि सामाजिक सञ्जालमार्फत प्रमाण सहित आउन हालेको सूचनाका आधारमा सिक्रीधनी पत्ता लागेको हो । भेटाउने बस्यालले मेहनत बाहेक अर्काको भेटाएको धन र गरगहानाले मन पगाल्न नसक्ने बताउनुभयो ।
इमान्दारिताको मुल्य नहुने भन्दै उदाहरणीय र प्रसंशायोग्य कामको सधै सम्झना भन्दै प्रहरीले समेत धन्यवाद दिएको छ । म्याग्दीमा यसअगाडी समेत सडक र विभिन्न स्थानमा बेवारिसे भेटिएका नगद, गरगहना सहित बहुमुल्य सामान हस्तान्तरण गरेर नमुना प्रस्तुत गर्ने गरेका छन् ।