पर्वत : ‘आहै चिप्लोमा बाटो… भैलो, आहै अँध्यारो रातमा … भैलो, आहै लड्दै र पड्दै … भैलो, आहै केराको थम्बा … भैलो, आहै १० भाइ जम्मा … भैलो …’‘हा … सुनको ढोका चाँदीको आगल, आइत पुग्यौँ साथीको बगल’, ‘हा … सिमी सिमी पाकेको सिमी, हामी जान्छौँ बस है लक्ष्मी।’
यस्तै यस्तै खालका शब्द र भट्ट्याई आजभोलि खासै सुन्न पाइँदैन। तर बुधवार सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूले यस्तै भट्ट्याई र गीतसहित विद्यालयमा देउसी भैलो खेले। कुनै प्रयोजनको लागि रकम सङ्कलन गर्ने वा प्रतिस्पर्धाका रूपमा नभई मौलिक र सांस्कृतिक देउसीको रक्षा गर्दै तयारी सङ्गीतमा नाचेर खेलिने देउसी भैलोको अन्त्यका लागि विद्यालयले विद्यार्थीहरुलाई यो काम लगाएको थियो।
विद्यार्थीका माध्यमबाट सन्देश फैलाउन तथा शिक्षकका कुरामा विद्यार्थीहरूले विश्वास गरेर कार्यान्वयन गर्ने भएकाले ‘साउन्ड सिस्टम’ बोकेर एउटा चोकमा बसेर नाचेर देखाउने भैली भन्दा मादल बजाएर भट्ट्याउँदै आशीर्वाद दिने देउसीको महत्त्वपूर्ण छ भन्ने सन्देश दिनको लागि विद्यार्थीहरूलाई मौलिक देउसीको अभ्यास गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले बताए।
‘बजारमा जन्मे हुर्केकाले त मौलिक भैलो देख्न मुस्किल भइसकेको छ। गाउँबाट बजारमा अध्ययनका लागि भाइ बहिनीहरूले पनि दशक अगाडिका भट्ट्याउने शैलीको बारेमा अनविज्ञ छन्’, उनले भने, ‘देउसी खेल्ने पैसा असुल्नको लागि हो भन्दा पनि आशीर्वाद दिँदै हिँड्नका लागि हो भन्ने कुरा सबैले बिर्सिएका छन्। अहिलेका नयाँ पुस्तालाई पनि यसको बारेमा सिकाइएको छैन। नेपाली गीत बजाए पनि बेग्लै कुरा आजभोलि हिन्दी र रिमिक्स गीतमा नाचेर देउसी खेलको देख्दा पो अचम्म लागेको छ’
समाजमा सन्देश फैलाउनको लागि, आधुनिकताका नाममा भित्रिएका विकृतिहरू हटाउनको लागि र पुराना कलाको संवर्द्धनको गर्नको लागि विद्यार्थीहरू महत्त्वपूर्ण माध्यम हुने भएकोले सकेसम्म हरेक विद्यालयले वार्षिक रूपमा मौलिक देउसी भैलो प्रतियोगिता राख्नु राम्रो हुने कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी बताउँछन्।
गाउँमा मन्दिर, पार्टी, पौवा, कुलो, सत्तल, बाटो निर्माण गर्नका लागि युवाहरू र आमा समूहहरूले खेल्ने गरेको भैलोमा आफू पनि सहभागी भएको स्मरण गर्दै उनले स्थानीय तहहरूले स्थानीय पाठ्यक्रममा यस्ता विषयहरूलाई समावेश गर्नुपर्ने बताउँछन्। मौलिक संस्कार र चलनहरू यही गतिमा बिग्रिँदै र बिर्सिँदै जाने हो भने केही दशकमा नै मौलिक प्रचलनहरू लोप हुने खतरा रहेको सुवेदीले बताए।
आजभोलि गाउँ गाउँका विद्यालयका विद्यार्थीहरूले मादल, मुजुरा, खैँजडी, मुरली जस्ता मौलिक बाजाको प्रयोग गरेर यदाकदा देउसी खेल्ने गरेको देख्न सकिन्छ। तर बजारमा भने ‘डान्स बार’ मा बजाइने खालका ‘रिमिक्स’ गरिएका तथा नेपाल बाहिरका गीत सङ्गीतहरूमा नाच्ने प्रवृत्तिले मौलिक कलालाई किचिसकेको छ। मौलिकताको संरक्षणका लागि विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पुराना कला र कौसलसँग परिचित हुने मौका दिने हो भने कला संरक्षणमा सहज हुने सरोकारवालाहरू बताउँछन्।