म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको अक्षय कोषका लागि देउसीभैलो सुरू गरिएको छ ।
पश्चिम म्याग्दीको एकमात्रै क्याम्पसको दिगोरुपमा सञ्चालन गर्न बुधबारदेखि वडा नं १ कुहुँ गाउँबाट सुरू गरिएको देउसीभैलो कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो ।
प्रमुख अतिथि खत्रीले हालसम्म समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसलाई शैक्षिक र भौतिक पूर्वाधारमा नमुना बनाउन समुदायबाटै थप सहयोग आवश्यकता रहेको बताउनुभयो ।
सोही अवसरमा गाउँपालिका अध्यक्ष एवम् सम्मानार्थ संरक्षक सतप्रसाद रोकाले क्याम्पसको नियमित स्रोत नहुदाँ तलबसुविधा सहित अन्य खर्चका लागि समेत मुस्किल भइरहेको अवस्थामा कोषबृद्धि गरी समस्या समाधानमा सहयोग गर्न देउसीभैलोमार्फत जुटेको बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर बुढाथोकी, मंगला शिक्षा क्याम्पस मुद्धति तथा आर्थिक संकलन उपसमितिकी संयोजक यसुदा रोकाले आफ्नो क्षमता अनुसार सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो ।
पूर्वकालिन प्रध्यापकलाई तलबसुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरु तयार गर्न, गरिब तथा विपन्न बर्गका विद्यार्थीहरूलाई छात्रबृत्ती प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन, हालसम्म क्याम्पसका शैक्षिक, भौतिक सहित सम्रग प्रगतिका बारेमा घरदैलोमा पुगेर जानकारी गराउन देउसीभैलो सञ्चालन गरिएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।
देउसीभैलोको पहिलो दिन कुहुँमा अष्ट्रेलियामा रहेका हरि राम्जालीले १ लाख, निवर्तमान वडा अध्यक्ष क्या डेकबहादुर राम्जालीले ५१ हजार ५५ रुपैयाँ, क्या. केशरबहादुर घर्ति ५० हजार ५ रुपैयाँ क्षत्री र भद्रबहादुर घर्ती क्षत्रीले ५० हजार ५ रुपैयाँ सहित स्थानीय समुदायबाट २ लाख ७५ हजार ६५ रुपैयाँ संकलन भएको क्याम्पसका सहायक प्रध्यापक भेषनाथ पौडेलले जानकारी दिनुभयो ।
क्याम्पसले तिहारको अवधिभर गाउँपालिका भित्रका ५ वटै वडा सहित कोषबृद्धि अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने क्याम्पस सञ्चालक समिति अध्यक्ष याम थापाले बताउनुभयो । घरघर पुगेर देउसी–भैलो खेल्दै प्रगति र भावी योजना सुनाउँदा स्थानीय समुदाय उत्साहित देखिएको अध्यक्ष थापाको भनाई छ ।
बि.स २०७८ सालमा स्थापना भएको कोष बृद्धिका लागि तत्कालिन समयमा पहिलो सहयोग सञ्चालक समिति अध्यक्षका मातापिता रनबहादुर र लीलावतीले १ लाख १ सय सहयोग गर्नुभएको थियो । हालसम्म कोष १२ लाख रहेको छ । पश्चिम म्याग्दीकै शैक्षिक हब बनाउन समेत क्याम्पसले २ करोड कोष स्थापना गर्ने लक्ष्य रहेको छ ।