म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा संकलन (उत्सर्जन) हुने फोहोर विगत २० वर्षदेखि विश्वकै एकमात्र शालीग्राम पाइने कालीगण्डकी नदी किनारमा विसर्जन गर्दै (फाल्दै) आएको छ ।

२०६२ सालमा म्याग्दी उद्योग वाणिज्य संघले बजारको फोहोर संकलन गरी दुई किलोमिटर उत्तरतर्फ पवित्र तिर्थस्थल गलेश्वरधाम नजिकै बिसर्जन गर्न सुरु गरेको थियो । त्यस यता उपयुक्त डम्पिङ साइट फेला नपरेको भन्दै साविकको अर्थुङ्गे गाविस र हालको बेनी नगरपालिकाले पनि बजारको फोहोरमैला कालीगण्डकी किनारमा विसर्जन गर्दै आएको छ ।

हिन्दूधर्मावलम्वीहरुले भगवान विष्णुको अंश मानेर पूजा गर्ने शालीग्राम शिला पाइने विश्वकै एकमात्र नदी भनेर चिनिएको पवित्र कालीगण्डकी नदीमा फोहोर बिसर्जन नगर्न सम्वन्धित निकायलाई बारम्बार दबाब दिँदै आएको भएपनि सुनुवाइ हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

“बेनी बजारको फोहोरका कारण कालीगण्डकी नदीको महिमामा समेत असर पुगेको छ । धार्मिक,जैविक र पर्यटकीय महत्वको उक्त नदी किनारमा फोहोर विर्सजन नगर्न र बेनी बजारमा संकलन हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङ साइटको खोजी गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएका छौँ” अधिवक्ता समेत रहनुभएका कालीगण्डकी नदी संरक्षणकर्मी सागरजीवि उपाध्यायले बताउनुभयो ।

बेनी बजारबाट संकलन हुने फोहोरबाट कवाडीजन्य वस्तु छुट्टाएर प्लास्टिकजन्य तथा कुहिने फोहोरलाई सदरमुकाम बेनीदेखि २ किलोमिटर उत्तर बेनी–जोमसोम सडक खण्डबाट तल कालीगण्डकी नदी किनारमा खसाल्ने गरिएको छ ।

स्मरणीय छ, भारतको अयोध्यामा निर्माण भएको श्रीराम जन्मभूमी मन्दिरमा प्रतिष्ठापित गरिने रामललाको मुर्ति बनाउन भनेर दुईवटा शिला सोही स्थान (फोहोर विसर्जन गरिने स्थान) को नजिकैबाट अयोध्यामा लगिएको थियो । यद्यपि कालीगण्डकी नदीबाट लगिएका ती शिलाहरुबाट भगवान रामको मुर्ति नबनाइए पनि ती शिलालाई पवित्र शिला मानेर अयोध्यामा निकै महत्वका साथ राखिएको छ ।

कालीगण्डकी नदीका दुई शिला अयोध्या लगिएपछि सो स्थानको बारेमा व्यापक चर्चा भएको थियो । फोहोर विसर्जनका लागि त्यहाँ रोक लगाइने सम्मको छलफल भए पनि अहिलेसम्म सोही (साविककै) स्थानमा नै फोहोर फालिदै आइएको छ ।
बेनी नगरपालिकाले फोहोर व्यवस्थापनमा अर्को विकल्पको खोजी नगर्दा कालीगण्डकी नदी र सो क्षेत्रको वातावरण नै प्रदुषित बनेको कालीगण्डकीका अध्यता एवम् पं रंगराज आचार्यले बताउनुभयो ।

“फोहोर व्यवस्थित नगर्दा सो क्षेत्रका नागरिक र कालीगण्डकी नदीका जलचरलाइ समेत समस्या भएको छ । कालीगण्डकीको शुद्धता पनि बिटुलिदै जान थालेको छ ” आचार्यले भन्नुभयो ।

धार्मिक पर्यटकहरु गलेश्वरधाम प्रवेश गर्ने मार्गमा पर्ने उक्त फोहोरको डङ्गुरले गर्दा मन्दिरकै महिमालाई पनि प्रत्यक्ष असर गर्न सक्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनु भयो । उक्त स्थानको विकल्प खोजी गरेर नयाँ ठाउँमा फोहोर बिसर्जन गर्नु पर्ने उहाँको भनाइ छ ।

बाहिरबाट आउने पर्यटकहरुका लागि फोहोरको दुर्गन्धले गर्दा असर गर्ने र पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने मार्ग पनि भएको हुनाले पनि यहाँको विकल्प खोजिनु पर्ने भन्दै नगरपालिकालाई क्षेत्र विकास कोषले पटकपटक ताकेता गरेको भए पनि सुनुवाइ नभएको उहाँले सुनाउनु भयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले फोहोर व्यवस्थापन गर्ने स्थलको बिकल्प खोजी भएको बताउनु भयो । २०६२/०६३ देखि नै सो स्थानमा फोहोर फाल्ने काम भएको बताउनु भयो । “२०७९ मा हामी निर्वाचित भएर आएपछि पनि निरन्तरता भएको भएपनि त्यसलाई स्थान्तरण गर्ने बारेमा विकल्पहरुको खोजी भइरहेको छ ।”उहाँले भन्नुभयो “सकभर चाँडै त्यहाँबाट ल्याण्डफिल्ड साइट हटाएर अन्यत्र सार्ने योजना छ र त्यसका लागि बिकल्पहरु खोजेर उचित स्थानमा स्थान्तरण गर्ने हाम्रो योजना हो तर कहिले भनेर अहिल्यै भन्ने अवस्था छैन ।” नगरप्रमुख केसीले भन्नु भयो ।

Leave a Reply