प्रचुर पर्यटन सम्भावना बोकेका पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-२ मा अवस्थित जलजला लेक प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।

सडक सञ्जालसँग जोडिएका पर्यटकीयस्थलमा यात्राबाट निराश रहेका स्वदेशी तथा विदेशी पर्यटकका लागि मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने वर्षौंदेखि गुमनाम रहेको ’गुरिल्ला ट्रेक’ अन्तरगत पर्ने जलजला सुन्दर गन्तब्य भएपनि सोचेजस्तो पर्यटकको चहलपहल हुन सकेको छैन ।

छोटो, मध्यम र लामो दुरीको पदयात्राका लागि अनुकुल समुद्री सहतदेखि तीन हजार ४२० मिटरको उचाइमा समथर भूभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरि, गुर्जा, चुरेन, पुथा, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको जलजलाको लेक पश्चिम म्याग्दीका स्वदेशी पर्यटकलाई आर्कषित गर्ने सकिने नयाँ र आर्कषक गन्तब्य भएको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।जलजला क्षेत्र ढोरपाटन शिकार आरक्ष क्षेत्र भित्र पर्ने म्याग्दी, बागलुङ, रुकुम पूर्वबाट यात्रा गर्न सकिने गन्तब्य हो ।

यो तत्कालीन सरकार र माओवादीको द्वन्द्वका कारण चर्चामा आएका द्वन्द्व प्रभावित क्षेत्रलाई समेटेर सन् २०१२ देखि गुरिल्ला पदमार्गमा समेत समावेश छ । म्याग्दीको बेनी हुँदै पश्चिमी व्यापारिक केन्द्र दरवाङबाट धवलागिरी गाउँपालिकाको केन्द्र मुना, खोरिया, लम्सुङ हुदै उकालो यात्रापछि पुगिन्छ ।

सडक सञ्जाललाई छोडेर पदयात्राका लागि जलजला क्षेत्र निकै सुन्दर भएकाले प्रचारप्रसार र आवश्यक पूर्वाधारका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष प्रेम पुन बताउँछन् ।

‘अहिले पनि त्यहाँ पुग्नेहरूलाई बस्न मिल्ने ठाउँहरू छ, हामीले खेल पर्यटनका लागि समेत जोड्ने प्रयासमा छौ’ अध्यक्ष पुनले भने । उनले सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटल सञ्चालन गरी उच्च क्षेत्रमा खेलकुद गतिविधि सञ्चालनका लागि समेत जलजला क्षेत्र उत्कृष्ट मानिएकाले पदयात्राका साथै खेल पर्यटनमार्फत समेत यस क्षेत्रको प्रर्बधनमा सक्रिय भएको बताए ।

जलजलामा छोटो यात्राका लागि तीन दिन, मध्यम ५ र लामो १० दिनको यात्रा गर्न सकिन्छ । जलजला क्षेत्रमा रहेका गोठ, पशुचौपायाको बथान सहित विभिन्न प्राजतिका जडिबुटीको समेत देख्न सकिन्छ ।

जलजला क्षेत्रमा पूर्वाधार विस्तार गरी स्वदेशी पर्यटकलाई मात्रै आर्कषित गर्न सकेमा पनि विसं २०६म्याग्दी, बागलुङ, रुकुम पूर्व र रोल्पालाई समेटेर तयार गरेको गुरिल्ला ट्रेकको समेत प्रचारप्रसार गर्न सहज हुने धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँको भनाई छ ।

उनले हाल छोटो दुरीमा जलजला र लामो यात्राका लागि गुरिल्लालाई प्रचारप्रसारको आवश्यकता रहेको बताए । पश्चिम म्याग्दीका गुमनाम पर्यटकीयस्थलहरु प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहनका लागि आर्कषक मानिन्छ ।

Leave a Reply