पछिल्लो समय पदयात्रामा रमाउने पर्यटकको सबैभन्दा धेरै रोजाइमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको शिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

दशैं तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण दैनिकजसो आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको ठूलो भिड बढेको हो ।

केहीबर्ष अगाडीसम्म सुनसान जस्तै रहेको आधार क्षेत्रमा पदमार्ग, बस्ने संरचना सहित हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड ताल सहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरना सहितका सुन्दर दृष्यका कारण देशका विभिन्न जिल्लाका साथै घर विदामा विदेशबाट आएका समेत घुम्न जान थालेपछि पदमार्गमा चहलपहल धेरै छ ।

अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको त्यहाँ पुगेर फर्किनुभएकी बेनी अस्पतालकी ब्यवस्थापक पूजा बानियाँले बताउनुभयो ।

उहाँसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको टोलीले घुम्नै पर्ने एक सुन्दर गन्तब्य भएको बताउँदै विदाको समयमा सदुपयोग गर्न समेत पदमार्गमा रमाउने पर्यटकलाई अनुरोध गर्नुभएको छ ।

दशैं तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यो पदमार्गको भ्रमणलाई प्राथमिकतामा राखेका छन् । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तब्य हो ।

नारच्याङ गाउँदेखि दुईदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपाली आन्तरिक पर्यटकको संख्या बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा ६ गुणा बढेको छ । दशैंको दिनदेखि शुक्रबार सम्म करिब ८ सय भन्दा बढी आन्तरिक पर्यटक आधारशिविर पुगिसकेका छन् ।

यसका साथै भारतीय, चाइनिजि, ताइवानी र इटालियन पर्यटकहरुको संख्या पनि गतवर्ष भन्दा यसपाली देखिएको र अबका दिनमा पदमार्गमा नियमित पर्यटक देखिने भन्दै स्थानीय पर्यटन ब्यवसायी समेत उत्साहित छन् ।

पदमार्ग र आधार शिविरको भ्रमण गरेका पर्यटकहरुले पर्यटन पूर्वाधारको अभावका साथै आधार शिविरमा फोहोर बढेको छ भने शौचालय सहितका अन्य संरचनामा भने सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गरेका छन् ।

बेनीबाट दशैंको भोलिपल्ट साथीहरूसँग पहिलो पटक आधारशिविर पुगेका बेनीका छवी आचार्यले अन्नपूर्णको उत्तरी आधार शिविर धेरै रमणीय भएको बताउनुभयो ।

पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, संचारको सुविधा र बिच बाटोमा टी आउस लगायतका पूर्वाधार बनाउनुपर्ने उनले सुझाव दिनुभयो ।

अन्नपूर्ण उत्तरी आधारशिविर साच्चिकै स्वर्ग जस्तो छ । बेनीबाट दुईदिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक रहेको यूवा आचार्यको भनाईछ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुईदिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।

पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ। आवासीय सुविधा सहित रेष्टुरेन्ट सञ्चालन गर्न सकेमा अन्नपूर्ण अबको दिनमा म्याग्दीमा सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक पुग्ने पर्यटकीय गन्तब्य बन्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।

तस्वीरहरु छवी आचार्य र पूजा बानियाँ 

Leave a Reply