पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छ वटा वडाहरुमा स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको छ ।सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले करिब रु १८ करोडको लागतमा ६ वटा वडाहरुमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो ।

सातवटा वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोट बाहेक अरु सबै वडाहरुमा स्वास्थ्यचौकी भवन निर्माण भएका मालिका गाउँपालिकाका भौतिक तथा पूर्वाधार शाखाका सव ईन्जिनियर दीपक सापकोटाले जानकारी दिनुभयो ।

गत दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको इन्जिनियर सापकोटाले बताउनुभयो । केही समय अघि मात्रै वडा नं ३ मा पर्ने डाँडागाउँमा पनि स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

दुई आर्थिक वर्षको निरन्तर योजनाबाट सम्पन्न स्वास्थ्य चौकी भवनले स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने मालिका गाउँपालिका ३ का वडाअध्यक्ष मोतिप्रसाद बूढाले जानकारी दिनुभयो ।

यो परियोजनाका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु १ करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो । आव २०७९/८० मा रु एक करोड बजेट विनियोजन भएकामा सोही निर्माण कम्पनीले रु ७५ लाख ८६ हजार सात सय ७१ सम्झौता गरेको र रु ७४ लाख १० हजार चार सय ३७ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा प्राप्त बजेटबाट भवन परिसरमा घेराबार, फर्निचर, प्रवेशद्वारलगायत संरचना बनाउन लागिएको छ ।

भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् ।

“साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएकोमा सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज भएको वडाअध्यक्ष बूढाले बताउनुभयो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्य चौकी छ । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्य चौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।

निर्माण भएका स्वास्थ्य चौकीबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै स्थानीय समुदायको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पुग्ने स्थानीयको विश्वास छ ।

Leave a Reply