सप्नम मल्ल(Sapnam Malla)
प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने म्याग्दी जिल्ला घुम्ने अनुकुल मौसम सुरु भएको छ । प्राकृतिक सौन्दर्यताको अनुपम उपहार प्राप्त गर्न सफल म्याग्दीमा रहेको पदमार्गमा पछिल्लोपटक यात्रा गर्दा भोगेको सास्तीका बारेमा केही अनुभव लेख्ने प्रयास गरेको छु ।

म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी पुनहिल र मोहोरेडाँडा पदमार्ग हालिमुहाली दाजुभाइ समय अवधीमा सञ्चालनमा आएका पदमार्ग हुन। आजको मितिसम्म आइपुग्दा पुनहिलमा हजारौंको संख्यामा पर्यटक आउने गरेको यथावत छ।

त्यहीँ मोहोरेडाँडा जाने पद मार्ग हेरौं, कयौं गुना सुन्दर दृश्य, मौलिकता र फस्टाउने अवसर हुँदा हुँदै पनि पर्यटक भित्रर्याउन सकस परिरहेको छ। फरक छ दस जनाले चिन्नुमा र सय जनाले चिन्नुमा। प्रचारप्रसारको अभाव खड्किएको छ त्यहाँ ।पर्यटन भित्रीदैँ गर्दा समुदाय लाई पनि केही राहत होस भनी कुनै दिन महाबिर पुनले चिनाउनु भएको यो पदमार्ग आजको मितिमा आउँदा त्यति फस्टाउन सकेको छैन। जुन कुरा दुखद् छ।

सामुदायिक भनी सके पछि अलि कति छाँयामा पर्ने प्रबृत्ति हामी जान्दछौँ र मैले यात्रा गर्दा यही रोग देखेँ। व्यापार गरौंला पैसा कमाउला केही सुकिला दिन देखौला भनी खोलिएका लञ्च प्लेसले अपेक्षित लाभ लिन सकेका छैनन। म हिजो मात्र त्यही बाटो केही बिदेशी पाहुनालाई लिएर आएकी हुँ।

म एक महिना अगाडि त्यही बाटो भएर आएकी थिए । कुनै ठाउँमा पदमार्गमा हुनुपर्ने न्यूनतम पूर्वाधार, पर्यटकलाई बाटो चिनाउन सहज हुने संकेतहरु नै छैनन । पर्यटकले पदप्रर्दसक नहुदाँ अन्धाधुन्दा यात्रा गर्नुपर्ने अवस्था अझै छ ।

हामीले पनि पदयात्राको क्रममा बैसरी झर्नुपर्नेमा बाटो बिराएर तिल्किनी जाने आधा बाटो पुगेर फेरि फर्किने सास्ती भोग्नु पर्यो।टिकोट गाउँबाट बैसरी झर्ने रुटमा पहिरोले बाटो पुरेको थियो।यस बखत पदयात्रा बाट फर्किसके पछि मैले त्यहाँका घरबास संचालक सम्म यो खबर पुराएकी थिए ।

अब पर्यटक भित्रिने समय आउन लाग्यो बाटोहरुमा चिन्ह लगाउनु होला, पहिरो गएको ठाउँमा बाटो बनाउनु होला, बाटो सफा गर्नु होला भनेर। अहिले फर्किएर त्यही बाटो पर्यटक लिएर जाँदा केवल चिन्हहरु मात्र छन पहिरो यथावत छ। झारले पुरेका बाटाहरु यथावत छन।

मैले टिकोट बाट बिदा हुने बेला पहिरो गएको ठाउँमा बाटो बनेको छ कि नाइ भनेर सोधपुछ गर्दा बनेको छ भनी सके पछि म मेरो समुह लाई लिएर बैसरी तर्फ लागेँ त्यहाँ पुगदा पहिरो गएको ठाउँ जस्ताको जस्तै थियो। म सङ्गै जानू भएका हाम्रा समुहका नेपाली दाजुभाइ बहिनीको सहयोगमा पहिरो तार्यौं। यो कुराले एक्दमै दुखित तुलायो।हामीले पर्यटन भित्राउँदै गर्दा सुरक्षित पर्यटन पनि सुनिश्चित गर्नु पर्ने हुन्छ।

सामुदायिक भएकै कारण यो सास्ती बेहोर्नु परेको हो हामिले ? घरबास संचालक एक जनाले दुखेसो पोख्नु भएको थियो “यदि घरबास सेवा व्यक्तिगत भएको भए हामीले त्यही अनुसारको खानाका परिकार बनाउन जान्ने थियौं, घरहरु पनि व्यवस्थित हुने थिए, अङ्ग्रेजी बोल्न जानिन्थ्यो खै यत्रो बर्स भयो त्यहि ओछ्यान धुने केही कमाइ पनि हुँदैन।“

यो कुराको गहनता हामी ले कहिले बुझ्ने ? प्राइभेट हुँदा साथ त्यहाँ प्रतिस्पर्धा हुन्छ। जुन विकास हुनको लागि अनिवार्य तत्व हो।प्रतिस्पर्धामा जाँदा स्थानीयले रोजगार पाउने ठूलो विश्वास रख्दछु मैले।पर्यटन भित्रीदैँ गर्दा केही सकारात्मक कुरा  केही नकारात्मक हामी मध्य मार्ग अपनाएर जानू पर्छ। हाम्रो समाज, हाम्रो मौलिकता, हाम्रो संस्कार संस्कृति हामिले नै बचाउने हो।

हामीले यो पदयात्रामा पर्यटकलाई साहित्यसँग,म्याग्दीको भूगोल, यहाँको पर्यटकीयस्थलसँग समेत जोड्ने प्रयास गरेका थियौं  पर्यटकलाई हामीले गाउँघरमा स्वागत गर्नुपर्ने, नियमित आवतजावत गर्ने मार्गहरुमा सरसफाई गर्नुपर्ने भएपनि त्यसतर्फ कसैको ध्यान गएको छैन।हामी सङ्ग उपलब्ध भएका साधनलाई पैसामा कसरी रुपान्तरण गर्ने भन्ने कुरा जानकार भएपनि बेवास्ता भइरहेको छ ।

यो युग प्रविधिको हो परिवर्तनको हो फराकिलो विचार राख्न अनिवार्य छ। जलजला,बास्खर्क,नागी,मोहोरे टिकोट हुँदै बैसरीमा टुंगिने यो पदमार्गमा राम्रो होस्पिटालिटीको अभाब छ । प्रचार प्रसारको अभाव छ,पर्यटन प्रती चासोको अभाब छ र व्यक्तिगत तवरबाट घरबास संचालिन गर्छु भन्नेहरुका लागि बन्धनकारी नियम लादिएको छ।यसरी नै जाने हो भने हामी आफ्नै सुगन्ध चिन्न नसक्ने कस्तुरी हुन पुग्ने छौँ ।

समय छ समय मै आफ्ना गल्तीहरु सुधार गरौं। सुरक्षित र व्यवस्थित पर्यटन सुनिश्चित गरौं। नेपालीको भाग्य पदमार्गहरु मै छ, डाँडा काँडाहरु मै छ यो भाग्यलाई चिन्न जरुरी छ। म म्याग्दी जिल्लाको बासिन्दा हुँ, नेपालका सुन्दर डाँडाहरु चिनाउने पेशामा आबद्ध छु। र यो मेरो नितान्त प्रेम स्वरुप सुझाव हो।

यसलाई अन्यथा नलिनु होला। हामीले देखेको लेख्ने आवश्यकता महसुस भएको क्षेत्रमा सहयोग गर्ने र म्याग्दी जिल्लालाई चिनाउन सबैतिरबाट लाग्नुपर्छ । अन्त्यमा मेरो अनुरोध छ, यो दशैंतिहारको विदामा स्वदेशी तथा विदेशी पर्यटक तपाईहाम्रो पर्यटकीयस्थलमा आउने भएकाले पदमार्ग, सडकहरु भत्किएको छ भने मर्मत वा सम्बन्धित निकायलाई सचेत बनाउनुहुन अनुरोध पनि गर्दछु ।

Leave a Reply