स्याङ्जाको पुतलीबजार नगरपालिका -१२ पेल्काचौरका २९ वर्षीय तेजन गुरुङले आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् ।
यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब ५ बजेको समयमा चिनको ८०२७ मिटर अग्लो सिसापाङ्ग हिमाल चढेसँगै गुरुङलाई आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने सफलता मिलेको हो । स्याङ्जाबाट आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने गुरुङ पहिलो हुन् ।
बेलायती लाहुरे जीवनमा आठ वर्ष बिताएर गुरुङ २०२२ सालमा आफ्नो कर्म थलो बेलायती सेना छाडेर हिमाल आरोहणमा होमिएका थिए ।बेलायत सेनामा रहँदा २०१७ मा छ हजार मिटर उचाई भएको लोगुचे स्टपीकबाट हिमाल आरोहण थालेका गुरुङले २०२२ मे २७ मा सगरमाथा आरोहण गरेका थिए ।
उनले २८ मे २०२२ मा ल्होत्से आरोहण गरेका थिए भने २०२३ मा मात्र ११ वटा हिमाल आरोहण गरेका थिए । गुरुङले १५ अप्रिल २०२३ मा अन्नपुर्ण, २३ मे २०२३ मा मकालु, १ जुन २०२३ मा कन्चनजङगा, २ जुलाई २०२३ मा नन्गा पर्वत, जी टु १७ जुलाई २०२३, जी वान २१ जुलाई २०२३, २५ जुलाई २०२३ मा बोर्ड पीक, के टु २८ जुलाई २०२३, मनास्लु १७ सेप्टेम्बर २०२३, २९ सेप्टेम्बरमा धौलागिरी, चोओयु २ आक्टुबर २०२३ मा आरोहण गरेका हुन् ।
सबै हिमाल आफूले एलिट एस्पेटबाट आरोहण गरेको बताउँदै सेना मै रहदाँ सगरमाथा वेश क्याम जाने अवसर मिलेको सोही समयबाट आरोहणको चाहना बढेको गुरुङले बताए । १४ वटै आठ हजार मिटर अग्ला हिमाल आरोही आफ्नै भिनाजु निर्मल पुर्जाको प्रेरणाले आफू उत्साही भएको उनको प्रतिक्रिया थियो । बेलायती सेनामा हुँदा उनले कमाण्डो तालिम समेत लिइसकेका थिए ।
बेलायत सेना हुदाँ कमाण्डोसम्मको तालिम अनुभव गरेका उनले हिमाल आरोहणलाई निरन्तरता दिएका छन् ।एसियाको एल्ब्रास, अर्जेन्टिनाको एकोनकना लगायतका दर्जन साना हिमाल समेत गुरुङले आरोहण गरेका थिए । युवाहरु विदेश गैरहेकोमा दु:ख व्यक्त गर्दै सबै युवाहरुलाई कसरी हिमाल आरोहणमा जोड्न सकिन्छ यसैमा लाग्ने उनको भनाइ छ ।