मुसुङ गाउँको शिरान । विशाल पहरो माथि पूर्वतर्फ फर्किएको चिटिक्कको दुई तले ग्रामीण घर । आँगनमा विछ्याइएका चिल्ला ढुङ्गा ।

उत्तरतिर फर्कदा आँखै अगाडी देखिने धवलागिरि,निलगिरि,गणेश,गुर्जा,अन्नपूर्ण लगाएतका १२ ओटा हिमश्रृङ्खला । शिरानमा पर्यटकीय स्थल बेलढुङ्गा । जंगलमा सुनिने पंक्षीहरुको चिरबिरावट र सामुन्नेमा देखिने जंगली जनावरहरुको क्रिडा।

यो शब्द दृश्य म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा रहेको रमणीय स्थल स्वर्गाश्रमको हो । जहाँबाट देख्न सकिन्छ आँखै अगाडी १२ ओटा हिमाल, ३२ ओटा गाउँ र सातओटा धार्मिक क्षेत्र तथा तीर्थस्थलहरु ।

स्वर्गाश्रमले वत्तिमुनिको अध्याँरो नियति भोग्न वाध्य छ । प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको भए पनि यो स्थान एक सय वर्षअघि पहिचानमा आएको स्थानीयको भनाइरहेको छ ।

स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने स्वर्गाआश्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो । प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता पनि रहेको  छ ।

बेनी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष पदमबहादुर पुनका अनुसार यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि तनहूको देवघाटमा जानुभएको थियो ।  सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ स्वर्गाश्रम हो । स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधान, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ ।

स्वर्गाश्रमको शिरमा रहेको बेलढुङ्गा म्याग्दी र बागलुङको सिमानामा रहेको यस क्षेत्रको प्रशिद्ध पर्यटकीय स्थल हो । यसलाई प्रकृति नियाल्ने आँखीझ्याल भनिन्छ ।

प्राकृतिक छटाले भरिपूर्ण बेलढुङ्गाबाट उत्तरतर्फ आँखै अगाडी टलक्कै टल्किएका दजनौ हिमालहरु, म्याग्दी, बाग्लुङ्गका अधिकाँश ग्रामिण वस्तीहरु तथा पर्वत र कास्की जिल्लाको केहि भुभागहरु सहितका अग्ला अग्ला धुरीहरु देखिन्छन् ।

म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका ३ धम्जाको सीमा क्षेत्रमा पर्ने बेलढुङ्गा सुन्दर पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । बस्तिदेखि निकै उच्च स्थानमा रहेको बेलढुङ्गा स्वर्गाश्रमबाट आधाघण्टाको पैदलयात्रा पछि पुग्न सकिन्छ । विभिन्न प्रजातिका चराचुरुङ्गीको कोकिल आवाज र चिसो सिरेटो स्पर्श बाहेक यहाँ अन्य कुनै कोलाहल पाइँदैन ।

समुद्री सतहदेखि २ हजार ६ सय १४ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट पूर्वी रुकुममा पर्ने चुरेन, म्याग्दीमा पर्ने गुर्जा, धवलागिरी प्रथम देखि फोर्थ सम्म, मानापाथी, निलगिरी साउथ, अन्नपूर्ण फस्ट र साउथ, वराह शिखर, तिलिचोपिक, माछापुछ्रे, गंगापूर्ण, लम्जुङ्ग हिमाल र मनास्लु हिमश्रृङ्खलाका आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ । सुर्योदय अवलोकनका लागि बेलढुङ्गा पुनहिल भन्दा पनि उपयुक्त स्थान भएको वडाअध्यक्ष पुनले बताउनुभयो ।

जंगलको बीच भागमा चेप्टो बेल आकारको विशाल चट्टान छ । चट्टानको शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको चिटिक्कको पदमार्ग बनाईएको छ । विहान सवेरै देखिने उषाको लाली किरण सहितको सूर्योदयको दृश्यले यहाँ पुग्ने जो कसैको मन सजिलै लोभ्याईदिन सक्छ ।

बेनी नगरपालिका र बागलुङको काँठेखोला गाउँपालिका बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जुटेका छन् । दुवै पालिकाले यहाँ पुग्ने सडक,पदमार्ग र बेलढुङ्गामा भ्यू प्वाइन्ट निर्माण गरेका छन् ।

बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको बेनी नगरपालिका वडा नम्वर ३ भकिम्लीका वडा अध्यक्ष पुनले बताउनुभयो ।

सदरमुकामबाट नजिकैको स्थानमा रहेको मनोरम पर्यटकीय स्थल भएकाले आवश्यक पूर्वाधार निर्माण भएमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने अध्यक्ष पुनले बताउनुभयो ।

Leave a Reply