दसैँ सकिएसँगै प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीमा स्नान गर्नेको चाप बढेको छ । दशैं सकिएलगत्तै बुधबारदेखि दैनिक २ सय बिरामी तथा घुम्न थाने पर्यटकहरु कुण्डमा स्नान गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापनका अध्यक्ष अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो ।

बिरामीको चाप बढेपछि कात्तिक १ गतेदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाईसमूह बनाएर स्नान गर्ने व्यवस्था मिलाएको अध्यक्ष खड्काको भनाई छ । दैनिक दुई सयको हाराहारीमा रहेकोमा यो संख्या कात्तिक महिनामा तीन सयसम्म पुग्ने अनुमान सहित थप ब्यवस्थापन समेत गरिने जनाइएको छ ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सयले स्नान गर्न सक्ने क्षमता छ। छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ। त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ।

मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डहरुमा डुबेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा,सडके मर्केको, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने विरामीहरुको भनाइ रहेको छ।देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालिन आरतीले समेत बिरामीलाई आर्कषित गरेको छ ।

Leave a Reply