म्याग्दीको धवलागिरी गाउँपालिका-७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा हानिने छेलोको इतिहास बेग्लै छ । छेलो हान्ने परम्परा तत्कालीन थापा राजाका पालादेखि नै चल्दै आएको चलन हो । माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता यहाँ प्राचिन सभ्यता र धार्मिकतासँग जोडिएको छ । पश्चिम म्याग्दीका बस्तीहरूमा रहेका ठेलो प्रतियोगितामा सहभागि हुन्छन् ।

हरेक बर्ष ताकमकोतमा सम्पन्न हुने प्रतियोगितामा धेरै जित्नेमा वडा नं ७ का वडा अध्यक्ष समेत रहनुभएका अशोक खत्री पर्नुहुन्छ । बि.स २०७० सालमा पहिलोपटक विजेता बन्नुभएका खत्री यसपटकसम्म ९ पटक जितेर माल अर्थात् पहलमानको सम्मान पाउनुभएको छ । उहाँलाई माललाई फेटा गुटाएर सम्मानका साथै नगदले सम्मान गरिएको छ ।

खत्री बाहेक बि.स २०७८ र २०७९ सालमा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारले लगातार दुईपटक जित्नुभएको छ । वडा अध्यक्ष खत्रीले २०७८ सालमा सहभागिता जनाउनुभएन भने २०७९ मा निस्कोटका परियारसँग पराजित हुनुभएको थियो ।

बि.स २०७८ सालमा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रूपमा काम गर्दा तयारी नपुगेर सहभागिता नजनाएको बताउँदै खत्रीले यसपटक जनप्रतिनिधिको सेवासँगै नियमित अभ्यास सहित तयारी समेत प्रयाप्त भएकाले सहभागिता जनाएको बताउनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता समेत रहनुभएका खत्रीले अन्य खेलकुदमा समेत पोख्त हुनुहुन्छ ।

९ पटकसम्म पहलमान बन्न सफल वडा अध्यक्ष खत्रीले यो तत्कालिन थापा राजाले सुरुवात गरेको र निरन्तरता दिने एउटा खेल भएको बताउनुहुन्छ। ‘मैले उपाधी भन्दा पनि यो परम्परालाई निरन्तरता मा सघाएकोमा विजय महसुुस गरेको छु’ वडा अध्यक्ष खत्रीले बेनीअनलाइनलाई भन्नुभयो ।

८ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेर विजय हुनुभएका खत्रीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ । वडा अध्यक्ष खत्री नै अहिलेसम्म धेरैपटक ठेलो फाल्ने प्रतियोगितामा सहभागि भएर विजय हुने पहिलो हुनुहुन्छ । लगातारजस्तै विजेता बन्ने खत्रीले जनप्रतिनिधिको जिम्मेबारी सम्हालेपछि पनि यसलाई निरन्तरता दिनुभएकोमा स्थानीयबासी समेत उत्साहित छन् ।

पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ । १२४६ देखि १५४५ सालसम्म बगाले थापाको र १५४६ देखि १८८२ सालसम्म मल्ल राजाले कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्त्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । ताकमकोतमा अहिले सडक सञ्जाल, पदमार्ग सहित हनुमानको मुर्ती लगायत अन्य संरचना निर्माण गरेपछि स्वदेशी पर्यटकको आगमन बढेको छ ।

समुद्री सतहदेखि २ हजार दुई सय मिटर उचाइमा रहेको ताकमकोतबाट विश्वकै सातौं अग्लो धौलागिरी हिमाल, १० औं अग्लो अन्नपूर्ण हिमाल सहित गुर्जा, चुरेन लगायतका हिमालका साथै मनोरम दृष्य देखिन्छ ।

Leave a Reply