दसैं भन्नेबित्तिकै मासु खाने पर्वको रूपमा लिइन्छ। साकाहारीहरू मिठाइका साथै मिठामिठा परिकार खाने पर्वको रूपमा लिन्छन् दसैंलाई। तर यी मासु तथा मिठा परिकारको सन्तुलन नमिलेमा स्वास्थ्यमा असर पर्ने पोषणविद् तथा चिकित्सक सुझाउँछन्। विशेष गरी मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोल उच्च भएका बिरामी झनै सतर्क हुनुपर्ने चिकित्सक सझुाउँछन्।

पोषणविद्हरूका अनुसार दसैंमा परम्परागत रूपमा मासु सामान्य तरिकाले पकाएर खान्थे तर अहिले मासुका अनेक परिकार बनाएर खाने चलन बढेको छ। दसैंकै बेला कोकाकोला फ्यान्टाजस्ता कोल्डड्रिंक्स पनि उत्तिकै सेवन गर्ने चलन बढेको छ। जुन परिकारको सट्टा पहिला दही, मही खाने गरिन्थ्यो।

कतिपयले मासुको परिकार साँधेर, रोस्ट बनाएर, सेकुवा र तारेका परिकार बनाएर खान्छन्। त्यसमा पनि धेरै प्रकारका मिठाइ एकै दिन खाने, पाहुनालाई कोकाकोला, फ्यान्टा दिएर स्वागत गर्ने चलन बढेको छ।

यसरी दसैं मनाउँदा खाने तरिका स्वस्थ र अस्वस्थ दुवै व्यक्तिका लागि हितकारी नहुने पोेषणविद् बताउँछन्। कोकाकोला, कृत्रिम जुसजस्ता पेय पदार्थमा रसायन र चिनीको मात्रा अत्यधिक हुनाले मधुमेह, उच्चरक्तचाप, स्वास्थ्यमा जोखिम बढ्ने न्युट्रेसन काउन्सिलिङ एन्ड रिसर्च प्रालिकी डाइटिसियन पोषणविद् नानीशोभा शाक्य बताउँछिन्।

सहरमा परिवारमा कम सदस्य भएका मानिसहरू तयारी खाना अनलाइनबाटै मगाएर खाने चलन बढेको देखिन्छ। होटेल, रेस्टुरेन्टमा बनेका यस्ता परिकारमा तेल तथा मसलाको प्रयोग बढी हुने हुनाले स्वास्थ्यका लागि हानिकारक हुने नानीशोभा शाक्य बताउँछिन्।

डाइटिसियनका अनुसार साकाहारीले दसैंको नाममा खाने मिठा परिकार जेरी, मिठाइ आदिमा चिनीको अत्यधिक मात्रा हुनाले मधुमेह बढ्ने र मोटोपना बढ्ने सम्भावना रहन्छ। उनका अनुसार दसैंको बेलामा अरू बेला रक्सी नपिउने व्यक्तिले पनि एकैपटक दुई/तीन दिन मज्जाले रक्सी पिइदिने गर्दछन्।

यसरी एकै पटक धेरै रक्सी पिउँदा उच्च रक्तचाप देखिने, मुटुमा समस्या आउनुका साथै कलेजोमा असर पर्न सक्छ। दसैंको बेलामा अत्यधिक प्रयोग हुने परिकार मासुले स्वास्थ्यमा धेरै असर पर्ने हुनाले मासुको मात्रा कम र मासुसँगै अन्य परिकार समावेश गरेमा दसैं स्वस्थकर हुने उनी बताउँछिन्।

मासुसँगै फाइबर तथा भिटामिन सीयुक्त खानेकुरा समावेश गरेर खाएमा पाचन प्रक्रियामा सहज हुने पोषणविद् मोदनाथ पाौडेल बताउँछन्। यसका लागि तरकारी, फलफूल, सागपात, भिटामिन सीयुक्त खाना कागती, अमला अनिवार्य रूपमा समावेश गर्न सकिन्छ।

मासुको परिकारका साथै राइता, अम्बा या दही अनिवार्य समावेश गर्न सकिन्छ। यस्ता खानाले भिटामिन ए जन्य खाना मासु, साग, तरकारीबाट प्राप्त हुने फलामतत्त्व सोस्नका लागि सहयोग पुर्‍याउँछन्। दसैंको अचार बनाउँदा आलसको प्रयोग गर्दा आलसको प्रयोगले कोलस्ट्रोल उच्च भएकालाई फाइदा पुग्छ। दसैंमा उच्च कोलस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, मिर्गौला तथा कलेजोका बिरामीले विशेष ध्यान दिएर खानुपर्ने चिकित्सकको सुझाव छ।

पोलेको र धेरै तारेभुटेको मासुमा पनि कार्सिजोनिक तत्त्व बढी हुने भएकाले यस्ता परिकारको सट्टा कम तेल, कम मसला प्रयोग गरेका मासुको परिकार बनाएर खान सकिने पोषणविद् बताउँछन्। मासुको अचार बनाएर पनि खान सकिन्छ।

मासुको भुटेर पकाउँदा त्यसको पोषणतत्त्व पनि उडेर जाने भएकाले सकेसम्म विस्तारै छोपेर पकाएको मासु स्वस्थकर मानिन्छ। मासु खाँदा आफ्नो तौलअनुसार खान सकिने डाइटिसियनको सुझाव छ। शरीरको एक केजी तौलका लागि एक ग्राम मासुले पुग्छ। त्यही अनुपातमा आफ्नो तौलअनुसार मासु खान सकिन्छ।

पोलेको मासुमा क्यान्सरजन्य तत्त्व ‘कार्सिजेनिक’को मात्रा हुन्छ भने भुटेतारेको मासुमा चिल्लोको मात्रा बढी हुन्छ। चिल्लो पदार्थले शरीरमा बोसोको मात्रा बढाउँछ। त्यसमा पनि पहिल्यै तौल बढी भएका, बढी मोटा मानिसमा थप तौल बढने र उच्च रक्तचाप बढने जोखिम हुन्छ।

साकाहारी भोजन गर्नेहरूले दसैंमा बढी मिठाइका परिकार, कृत्रिम पेय पदार्थ समावेश गर्नुको सट्टा घरमा आउने पाहुनालाई लस्सी, घरमै जुस बनाएर राख्ने, कागती पानी बनाएर पनि स्वागत गर्न सकिन्छ। साहाकारीहरूको भोजनमा प्रोटिनको मात्रा कम हुने हुनाले मिठाइको सट्टा पनिर, टोफु, गेडागुडीको तरकारी, बदाम, काजु, ओखर जस्ता परिकार पनि समावेश गर्नु उचित हुने पोषणविद्को सुझाव छ।

सुखद दसैं मनाउने पाँच तरिका: डा. ओममूर्ति

–दसैंको रमझममा धेरै मानिस धेरै कुरा बिर्सिने गर्छन्। त्योमध्ये आफूले नियमित प्रयोग गरेको औषधी। खास गरी वृद्ध–वृद्धाहरूले औषधी बिर्सेका कारण रोग बढेर एक्कासि गम्भीर बिरामी पर्न सक्छन्। सो वृद्ध–वृद्धा भएका परिवारका सदस्यले यी कुरामा ख्याल गर्नुपर्छ।

–पर्वको रौनकमा कतिपय मानिसहरू अरूलाई दुःख हुन्छ भनेर रोग लुकाएर राख्ने गर्दछन्। यसरी रोग लुकाएर राख्नाले पर्वको बेलामा ठुलो समस्या निम्तिन सक्छ। छाति दुख्यो या केही लक्षण देखियो भने अस्पताल गइहाल्नु पर्छ। रोग दबाएर राखे जोखिममा भएका व्यक्तिहरूको एक्कासि हृदयाघात हुन सक्छ। समयमै अस्पताल जानुपर्छ।

–परिवारमा वृद्ध–वृद्धा छन् भने उनीहरूको रक्तचाप परीक्षण गर्ने, औषधी चेक गर्ने जस्तो सतर्कता अपनाउनु पर्छ। यी औषधी हेरेर जगेडा गरेमा पर्वको बेलामा मृत्युको जोखिम कम हुन्छ।

–उच्च रक्तचाप, कोलस्ट्रोल, मुटु र मधुमेहका बिरामीले विशेष ख्याल राख्नुपर्छ। विशेष गरी आवश्यकताभन्दा बढी मासु नखाने र अन्य खाना पनि उच्च क्यालोरी भएका खाना कम खाने गर्नुपर्छ। जस्तो कि मिठाइ र कोल्डड्रिंक्सको प्रयोग गर्नु हुँदैन। मासु खानेले फाइबर, सलाद र सागपातको अनिवार्य प्रयोग गर्नुपर्छ।

–चाडपर्वको बेलामा मानिस दुईवटा गल्ती गर्छन्। एउटा एकै पटक धरै मदिरा सेवन गर्ने र अर्को नयाँ व्यक्तिले पनि मदिरा सेवन गर्न सुरु गर्ने। यसो गर्दा पर्वको बेलामा गम्भीर असर पर्न सक्छ। छोटो समयमा धेरै मदिरा सेवन गर्दा ‘बिन्ज ड्रिङकिङ’ अर्थात् अत्यधिक मदिरा प्रयोग भई शरीरमा नयाँ समस्या देखिएर हृदयाघात तथा कलेजोमा समस्या आउन सक्छ। nagariknews.com

Leave a Reply