दसैँमा घर पोत्ने चलन निकै पुरानो हो । दसैँमा वनपाखामा पाइने रातो माटो र सेतो कमेरो खनेर घर रङ्ग्याउने गरिन्छ । नेपालीहरुको मुख्य चाड घटस्थापना सुरु भएपछि नेपाली समुदायले पनि आ–आफ्नो घर पोत्न सुरु गरिहाल्छन् ।
घरका भित्ताहरुलाई रातो माटो र सेतो कमेरोले पोत्ने तथा झ्यालढोकामा वनमा पाइने कालटिकी (कालो पदार्थ) लगाएपछि बल्ल दसैँ आए जस्तो हुन्छ । साथै गाउँघरमा हालिने लिङ्गे र रोटेपिङ तथा दसैँमा गाइने मालश्री अनि पञ्चेबाजाले दसैँको रौनक थपिदिन्छ । नेपाली समाजमा मनाइने दसैँ अरु चाडपर्वहरुको तुलनामा महत्वपूर्ण रहेकाले दसैँमा मीठो खाने र राम्रो कपडा लगाउने पुरानो चलन अझै छ ।
दसैँको बेला घरघरमा रातो र सेतो माटो अर्थात् कमेरो पोत्नुका साथै आँगन र वरिपरी सरसफाइ गरिन्छ । घरका भित्ताहरुमा तल र माथि गरेर पोतिएको रातो र सेतो माटो अनि झ्यालढोका तथा कठोबारमा लगाइने रङले घर चिटिक्क देखिन्छ । तर पछिल्लो समयमा भने रातो माटो र सेतो कमेरोले घर पोत्ने चलन म्याग्दीका गाउँगाउँमा पनि हराउन थालेको छ ।
युवापुस्ता सहर, बजार तथा रोजगारीका लागि विदेशिने क्रम बढेसँगै गाउँघरमा पनि वनपाखामा पुगेर रातो माटो र सेतो माटो ल्याउने र घर पोत्ने क्रम विस्तारै घट्दै गएको छ ।
म्याग्दीको गाउँगाउँमा समेत अचेल बजारमा पाइने चुना, गेरु र इनामेलको प्रयोग बढ्दो छ । गाउँघरमा परम्परागत रुपमा रातो माटो र सेतो कमेरोलाई अम्लिसोको कुचोले घर पोत्ने चलनलाई पछिल्लो केही वर्षदेखि उद्योगहरुमा निर्मित चुना र गेरुले विस्थापित गर्न थालेको छ ।
अचेल गाउँमा रातो माटो र सेतो कमेरोको सट्टा चुना, गेरु र इनामेल लगाउने गरिन्छ । वनपाखामा पाइने रातो माटो र सेतो कमेरो तथा कालटिकीले घर पोत्ने र झ्यालढोकामा रङ लगाउने चलन अब धेरै पुरानो भैसक्यो । उद्योगहरुबाट उत्पादित चुना, गेरु र इनामेलको सहज उपलब्धतासँगै घर पोत्न पनि सजिलो हुने भएकाले उद्योगका उत्पादनहरुको प्रयोग बढेको हो।
अहिले गाउँका वनपाखाहरुमा सजिलै पाइने रातो र सेतो माटो खन्नुको सट्टा सहर, बजारका हार्डवयर पसलहरुमा चुना, गेरु र इनामेल किन्ने ग्राहकहरुको भीड देखिन्छ । घरका भित्ताहरुमा रातो र सेता माटोसँगै झ्यालढोकाहरुमा अगेनाको कालो मेसो र टर्चलाइटको व्याट्रीमा भएको कालो पदार्थ तोरीको तेलमा मिसाएर लगाउने गरिन्थ्यो । तर अहिले यी सबै चलन लोप हुने अवस्थामा पुगेका छन् ।
म्याग्दीको रत्नेचौर र अवेचौरमा रातो माटो खन्न पाइन्थ्यो । रातो माटो पाइने भएकाले रत्नेचौर नाम रहन गएको भन्ने पनि छ । तर अहिले रत्नेचौर पुगेर रातो माटो खन्ने चलन पनि हराइसक्यो । उपभोक्ताहरु भने सहर, बजारमा पाइने गेरु र चुनाको पछि लागेका छन् । सहज उपलब्धता, प्रयोग गर्न सहज र राम्रो देखिने भएकाले बजारका उत्पादनमा रुचि बढेको हो ।
वनपाखाको कमेरोले घर छेप्नुभन्दा बजारमा पाइने चुना र गेरु लगेर घर छेप्दा सजिलो, छिटो र राम्रो हुने भएकाले गाउँमा पनि चुना तथा गेरुको प्रयोग बढेको बेनी नगरपालिका–५, चिप्लेटीकी सरस्वती कार्कीले बताउनुभयो । रत्नेचौर र अवेचौरको रातो माटो तथा पुलाडाँडा नजिकै पाइने सेतो कमेरोलाई अहिले बजारको चुना, गेरु र इनामेलले विस्थापन गर्न थालेको स्थानीयवासी बताउँछन् । ग्रामीण भेगमा सडकको पहुँच विस्तारसँगै आरसिसी ढलानसहितका घरहरु बनेपछि चुना र गेरु तथा रङको खपत बढ्दो देखिन्छ ।
कार्की, घर्ती र खड्कालगायत थरका क्षत्री समुदायले सेतो कमेरो तथा चुना वा प्राईमरले घर नपोत्ने हुँदा उनीहरुले रातो र पहेँलो माटो तथा बजारमा पाइने गेरु लगाउँछन् । अन्य समुदायले भने रातो र सेतो दुईवटै प्रयोग गर्दछन् भने जिल्लाको लेकाली वस्तीमा सेतो कमेरोले मात्रै घर पोत्ने गरिन्छ । वनपाखामा माटो खन्ने ठाउँँलाई मटकिलो भनिन्छ । कारखानाको उत्पादनले आजभोलि गृहणी र मटकिलोको सम्बन्ध बिच्छेद भएको छ ।

Leave a Reply