कास्कीको मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक निर्माण भएको छ । मर्दी पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण भएको हो ।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

गौतमको २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो ।माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्कसहित शालिक निर्माण गरेका हुन् ।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व ‘हाइक्याम्प’मा मात्र नभइ मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि ठाउँमा होटल थिएनन् ।

पदयात्रामा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको छ ।

Leave a Reply