दशैमा टीका लगाउने क्रममा सुकिला नोट दिने प्रचलन पुरानो हो । नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । दशैंको मुखमा म्याग्दीका बैंक तथा वित्तिय संस्थामा नयाँ नोट लिनेको भिड नै लागेको छ ।

हरेक बर्ष म्याग्दीमा हरेक बर्ष करिव ५ करोडको हाराहारीमा सुकिला र नयाँ नोट भित्रिने गरेपनि यसबर्ष नयाँ नोट बजारमै आएन् । वित्तिय संस्थाले सुकिला नोटहरुलाई नै ग्राहकलाई दिएका छन् । यसबर्ष नयाँ नोट नछापिएको अवस्थामा प्रयोग भएका सुकिला नोटहरु नै चाडपर्वमा प्रयोग हुदाँ झनै आयू घट्ने सम्भावना अधिक हुन्छ ।

दशैंमा प्रयोग भएका नोट वित्तिय संस्थासम्म आइपुग्दा रातो टिकाले रंगिएको समेत भेटिन्छ । जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको छ ।

नेपाल सरकारले अरवौंको लगानी गरी छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्न बाट जोगाउन म्याग्दीका वित्तिय संस्थाले नयाँ नोटसँगै सचेतनामुलक जानकारी सहितको पर्चा समेत वितरण गर्ने गरेको भएपनि सर्वसाधारणको हेल्चेक्राइले नोटको आयु घट्ने गरेको छ ।

गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले टिका लगाउँदा र पुजाआजा गर्दा रंग लाग्ने, पानी तथा दुधले नोट बिग्रने तथा च्यातिने गरेको बताए ।नोटलाई कच्याककुच्चुक तथा पोको नपार्ने, जमिनमा नफाल्ने,पूजा गर्दा मैलो हातले नछुने, अबिर, अक्षता, माटो, तथा पानीबाट बचाउने लगायतका उपाय अनिवार्य अपनाउन पर्ने बताए ।

‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतिक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ’ भनेर सूचना सहित सफा नोट वितरण गरिएको छ । नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई अतिरिक्त ब्ययभार थपिनुका साथै नेपाली अर्थतन्त्रमा नै असर गर्ने वित्तिय क्षेत्रका जानकारहरु बताउँछन् ।

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक नवराज ढुंगानाले डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिएको बताए । ‘दशैँ–तिहारका बेला नयाँ नोटहरु निकै प्रयोग हुन्छ,‘दक्षिण दिन देखि लिएर पूजाआजामा समेत प्रयोग गरिन्छ,जसले गर्दा नोटको आयु घट्छ’ प्रबन्धक ढुंगानाले भने।

File photo

टीका लगाउने क्रममा पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ,‘नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन्छ’ बैंकर्स संघ म्याग्दीमा अध्यक्ष समेत रहेका ढुंगानाले भने ।

कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोगमा समेत वित्तिय संस्थाले जोड दिएका छन्। दशैंमा वित्तिय संस्थाबाट ५, १०, २०, ५०,५ सय दरका नयाँ सटही सुविधा दिँदै आएको छ । नोटको संरक्षण गर्न सके नोटको जतन हुनुका साथै राष्ट्रलाई पर्ने ठूलो आर्थिक भारबाट पनि बचाउन सकिन्छ ।

Leave a Reply