प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउने चिठीपत्र आदानप्रदानको माध्यममात्रै नभई सेवामा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

म्याग्दीमा १५० वर्ष विश्व हुलाक दिवसको अवसरमा बुधबार जिल्ला हुलाक कार्यालयले सदरमुकाम बेनीबजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले हुलाकको पूरानो सेवालाई निरन्तरता दिदैं नयाँ र आधुनिक सेवाहरू विस्तार गदैं जानुपर्नेमा जोड दिनुभयो ।

दिवसको अवसरमा बेनीबजार परिक्रममा गरी जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीमा खरिदार एवम् सूचना अधिकारी सम्झना भण्डारी बानियाँ र हल्कारा सुनिता श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो।

जिल्ला हुलाक कार्यालयमा प्रमुख रमेश अधिकारीले पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको बताउनुभयो ।

विश्व हुलाक दिवस हरेक वर्ष ९ अक्टोबरमा स्विस राजधानी बर्नमा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको सम्झनामा मनाइन्छ । नेपालमा विसं १९३५ सालमा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरु भएको थियो । गत बर्ष म्याग्दीबाट चिठीपत्र सहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएका थिए ।

म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक र अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन्। कार्यक्रममा जिल्ला समन्वय अधिकारी अमृत सुबेदी, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा,मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्ष कार्यालय प्रमुख अधिकारी र सञ्चालन खरिदार मिनबहादुर बरुवालले गर्नुभएको थियो ।

Leave a Reply