नेपालमा दसैँ नेपालीहरूको सबैभन्दा महान् र प्रमुख चाडका रूपमा मनाइन्छ, जहाँ सम्पूर्ण देश उत्सवमय वातावरणमा हुन्छ। दसैँको मुख्य पक्ष भनेको देवी दुर्गाकोनौ रूपहरूको उपासनामा आधारित हुन्छ।
यो पर्वले केवल धार्मिक पूजा–पाठको महत्त्व मात्र नभई, आध्यात्मिक उन्नति र आत्मिक शक्तिको प्रतीकका रूपमा पनि गहिरो अर्थ राख्छ। दसैँको पहिलो दिन घटस्थापनादेखि नवमीसम्म हरेक दिन नवदुर्गाका नौ रूपहरूको पूजा हुन्छ,नवदुर्गाका नौ रूपहरू केवल धार्मिक पूजाको माध्यम मात्र होइनन्, तर गहिरो आध्यात्मिक यात्राको प्रतीक हुन्।
प्रत्येक देवी आ–आफ्नै विशेषता, शक्ति र गुणले भरिपूर्ण छिन्, जसले जीवनका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्छन्। देवी दुर्गाका यी नौ रूपहरूको पूजा गरेरभक्तजनहरूले आफूभित्रको असुर शक्तिलाई परास्त गर्ने प्रेरणा प्राप्त गर्छन्।
दसैँको यो पावन अवसरले सामाजिक, धार्मिक र सांस्कृतिक एकताको सन्देश दिन्छ, जहाँ सत्य, धर्म र न्यायको सधैं विजय हुन्छ। हरेक देवीले साधकको जीवनमा आउने विभिन्न आन्तरिक र बाह्य संघर्षहरूलाई प्रकट गर्छिन्। यो यात्रा आत्म–चेतनाको जागरणदेखि पूर्ण आत्मज्ञान र मोक्ष प्राप्तिसम्मको हो।
प्रस्तुत लेखले दसैँको यस सन्दर्भलाई गहिराइमा बुझ्दै, नवदुर्गाका नौ रूपहरूको आध्यात्मिक महत्वलाई व्याख्या गरेको छ। दसैँको अवसरमा देवीहरूको उपासना केवल बाहिरी कर्मकाण्डमा सीमित रहनु हुँदैन, बरु यसलाई आन्तरिक जीवनमा आत्मिक विकास र सुधारका मार्गका रूपमा लिनुपर्छ। यो लेखले देवी दुर्गाका नौ रूपहरूले हाम्रो जीवनका नौ चरणहरूलाई कसरी प्रतिनिधित्व गर्छन् र कसरी हामीलाई आत्मज्ञानको मार्गमा प्रेरित गर्छ भन्ने कुरा स्पष्ट पार्ने प्रयास गरेको छ।
दसैँको धार्मिक र सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै, नवदुर्गाका यी रूपहरूको उपासना, आराधना र पुजा विधिलाई व्याख्या नगरी आन्तरिक अर्थ र तिनले दिने आध्यात्मिक सन्देशलाई यो लेखमा प्रस्तुत गरिएको छ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः।।
१. शैलपुत्री–धैर्य र स्थायित्वको प्रतीकः शैलपुत्री देवी पृथ्वी तत्वको प्रतीक भएकीले आत्मिक स्थिरताको महत्त्व दर्शाउँछिन्। अध्यात्मिकरूपमा बुझ्दा, जब कुनै साधक आत्मिक यात्रा शुरू गर्छ, उसले आफ्नो आधारलाई बलियो बनाउनु आवश्यक हुन्छ। यो स्थिरता मात्र नभई साधकको जीवनमा ध्यान, योगर साधनाको रूपमा प्रकट हुन्छ। आत्म–चेतनाको यस प्रारम्भिक अवस्थामा साधकले आत्मा र शरीरको स्थायित्वको महत्त्व बुझ्छ र जीवनको अस्थिरताका बीच आत्मिक सन्तुलन बनाउँछ।
२.ब्रह्मचारिणी–आत्मनियन्त्रण र तपस्याको प्रतीकः ब्रह्मचारिणी देवीले तपस्या र आत्मसंयमको गहिरो अर्थ प्रस्तुत गर्छिन्। आध्यात्मिक यात्रामा साधकले आफूलाई अनुशासनमा बाँध्न सिक्छ। यो आत्मसंयम र ध्यानको महत्व हो, जहाँ साधकले आफ्नो आन्तरिक विकारहरूलाई नियन्त्रणमा राख्छ र बाह्य संसारको प्रलोभनबाट मुक्त हुन सिक्छ। यो साधना केवल इन्द्रियहरूको नियन्त्रण मात्र नभई मानसिक, भावनात्मक र आत्मिक रूपमा पूर्ण अनुशासनको प्रतीक हो। ब्रह्मचारिणीले बताउँछिन् कि आत्मानुशासन र तपस्याले जीवनमा आत्मज्ञान प्राप्त गर्न मद्दत गर्छ।
३.चन्द्रघण्टा–साहस र निडरताको प्रतीकःचन्द्रघण्टा देवी साहस र शत्रुमाथि विजय प्राप्त गर्ने शक्तिको प्रतीक हुन्।यो चरणमा साधकले आत्मज्ञानको बाटोमा आउने आन्तरिक र बाह्य बाधाहरूको सामना गर्नुपर्छ। यो केवल बाह्य चुनौतीहरू होइन, आत्म–शत्रुहरू जस्तै अहंकार, लोभर मोहसँगको संघर्ष हो। साधकले आफ्नो आत्मिक शक्ति जगाएर डर, नकारात्मकतार अनिश्चितता जस्ता मानसिक बाधाहरूलाई परास्त गर्नुपर्छ। यस चरणले साहस, निडरतार आत्मविश्वासको अभ्यास गरेर आत्मिक युद्धमा विजयी हुने मार्ग दर्शाउँछ।
४.कूष्माण्डा–सृष्टि र सकारात्मकताको प्रतीकः कूष्माण्डा देवी ब्रह्माण्डीय सृष्टि र सकारात्मकताको प्रतीक हुन्। कूष्माण्डाले सृष्टि सिर्जना गरेको जस्तै, यस चरणमा साधकको आत्मसृजनशीलताको उदय हुन्छ, जहाँ साधकले आफ्नो चेतनालाई ब्रह्माण्डीय चेतनासँग एकाकार गर्न सिक्छ। यो सृजनात्मकता केवल बाहिरी संसारमा मात्र होइन, आत्मिक संसारमा पनि विकास गर्छ, जहाँ साधकले आफ्नो सोच, भावनार कार्यहरूको सन्तुलन कायमगर्दै आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ।
५.स्कन्दमाता–मातृत्व र कर्तव्यको प्रतीकः स्कन्दमाता देवी करुणा र आत्मिक प्रेमको प्रतीक हुन्। जब साधक आत्मिक रूपमा अगाडि बढ्छ, उसले संसारप्रतिको आफ्नो जिम्मेवारी र कर्तव्यलाई गहिरो रूपमा महसुस गर्न थाल्छ।जहाँ साधकले आफूलाई मात्र होइन, सम्पूर्ण संसारलाई आफ्नो ममता र प्रेमले अँगाल्छ। अध्यात्मिक रूपमा, यो आत्म–समर्पणको अवस्था हो, जहाँ साधकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सेवा र परोपकारलाई आत्मसात् गर्छ।
६.कात्यायनी–न्याय र सत्यको प्रतीकः कात्यायनी देवी न्याय, धर्मर सत्यको प्रतीक हुन्। यो चरणमा साधकले सत्य र न्यायको खोजमा आफूलाई समर्पित गर्छ। आध्यात्मिक यात्रा केवल आत्मशान्ति र मोक्षको खोज मात्र होइन, बरु संसारमा धर्म, सत्यर न्यायको स्थापनाका लागि संघर्ष पनि हो। कात्यायनीले अन्यायको विरोध गर्दै सत्यको स्थापना गर्छिन्, जसले आध्यात्मिक साधकलाई सत्यको मार्गमा दृढताका साथ हिँड्न प्रेरित गर्छ।
७.कालरात्री–आत्मशुद्धि र अज्ञानको विनाशको प्रतीकः कालरात्री देवीले अज्ञान र अन्धकारको विनाशलाई प्रतिविम्बित गर्छिन्। यो आत्म–शुद्धिको अवस्था हो, जहाँ साधकले आफ्नो आन्तरिक अन्धकारसँग जुधेर प्रकाशको मार्गतर्फ अघि बढ्छ। कालरात्रीले यस कुरा पुष्टि गर्छिन् कि जीवनमा पूर्ण शुद्धि हासिल गर्न कठिनाइहरू र बाधाहरू पार गर्नुपर्छ। यो मोक्षको मार्गमा महत्वपूर्ण चरण हो, जहाँ साधकले आत्मज्ञान प्राप्त गर्न अज्ञानताको नाश गर्नुपर्ने हुन्छ।
८.महागौरी–शुद्धता र पवित्रताको प्रतीकः महागौरी देवी आत्मिक शुद्धता र निर्मलताको प्रतीक हुन्। जब साधकले आफ्नो आन्तरिक विकारहरूलाई पराजित गर्छ, तब ऊ पूर्ण आत्मिक शुद्धताको अवस्था प्राप्त गर्छ। यो मोक्षतर्फको अग्रसरण हो, जहाँ साधकले आफ्नो सम्पूर्ण अस्तित्वलाई शुद्ध, पवित्र र दिव्य बनाउँछ। साधकले अब आफूलाई संसारका बन्धन र माया–मोहबाट मुक्त गरेको हुन्छर यो मोक्षको द्वार हो।
९.सिद्धिदात्री–आध्यात्मिक सिद्धि र पूर्णताको प्रतीकः सिद्धिदात्री देवी आत्मज्ञान, सिद्धिर मोक्षको अन्तिम अवस्था हुन्। यो चरणमा साधकले पूर्ण ज्ञान प्राप्त गर्छ र परमात्मासँग एकाकार हुन्छ। सिद्धिदात्रीले जीवनका हरेक लक्ष्यमा सफलता, पूर्णतार सिद्धि प्राप्त गर्न मद्दत गर्छिन्। आध्यात्मिक यात्राको अन्तिम गन्तव्य हो, जहाँ साधकले सम्पूर्ण सत्यको बोध र आत्मज्ञान प्राप्त गर्छ। यो अवस्था मोक्षको अवस्था हो, जहाँ साधकको आत्मा–परमात्मासँग एकाकार हुन्छर उसले सबै प्रकारका सांसारिक बन्धनहरूबाट मुक्ति प्राप्त गर्छ।
– सञ्जय जुग्जाली, मालिका गाउँपालिका–७, बिम, म्याग्दी