म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग पदमार्गको सरसफाई गरेका छन् ।

घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनबहादुर पाईजा र जक फगामीको सहयोगमा भलिबल खेलाडीहरुको टोलीले आधार शिविर र नारच्याङको हुुमखोला देखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले गरेका फोहोर ब्यवस्थापन गरेका हुन् ।

असोज १७ गते आधारशिविरतर्फ गएको १९ जनाको टोली शनिबार सरसफाई गरेर फर्किएको छ । पदमार्ग र आधार शिविर घुुम्न गएका पर्यटकहरुले फालेको पलास्टिक जन्य फोहोर संकलन गरेर ब्यवस्थापन गरिएको सो कार्यक्रमको अगुवाई गर्नुभएका पाईजाले बताउनुभयो ।

“पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहोर बढ्न थालेकाले सरसफाईका लागि सन्देश दिन कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो “यहाँको सुन्दरतालाई कायम गर्न फोहोर ब्यवस्थापनप्रति पर्यटकहरु सचेत र सरोकारवालाले अगुवाई गरेर सरसफाईलाई निरन्तरता दिनुपर्छ ।”

घराम्दी गाउँको विकास र प्रर्वद्धनमा सहयोग गर्दै आउनुभएका पाईजा र फगामीले भ्रमण तथा सरसफाई टोलीको सबै खर्च व्यक्तिगत रुपमा ब्यवस्थापन गर्नुभएको थियो । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –४ मा पर्छ ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नु भएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको ८ हजार मिटर अग्लो हिमाल हो ।

मौरीस हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङ देखि आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

गत बसन्त याममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर जान थालेका बताउनुभयो ।

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । वि.स. २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।

होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीहरुले आफै खाने सामग्रीहरु लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएको छ । अस्टे«लीयामा रहेकी रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाईमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालय लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा बिनियोजन भएको बजेट कार्यान्वयनको तयारी गरेको बताउनुुभयो ।

Leave a Reply