रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु भएको छ ।

शुक्रबारदेखि इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले मोनाले जिल्लामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले प्रवासमा सिकेका सिप ,पुँजी र प्रविधि जन्मभुमी जिल्लामा लगानी गर्न आग्रह गर्नुभयो ।

‘‘जिल्लाको विकास र समृद्धिका लागि सबै एक हुन आवश्यक छ ,’’ सांसद गर्बुजाले भन्नुभयो,‘‘ जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानी गर्नुहोस् हामी पुर्वाधार लगायत आवश्यक वातावरण निर्माण गर्न सहयोग गर्नेछौं ।’’ आफु, प्रदेशसभा सदस्यहरु लगायत सबैको संयुक्त पहलमा जिल्लामा सडक ,खानेपानी लगायत ठुला–ठुला आयोजनाका लागि बजेट भित्रिएको सांसद गर्बुजाको भनाइ छ । बृहत घोप्टेखोला खानेपानी, राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटनसडक लगायत विभिन्न ठुला आयोजनाहरु कार्यान्वयनको चरणमा अगाडी बढेको जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यद्धय रेशमबहादुर जुग्जाली र बिमला गौचनले जिल्लाको विकास र समृद्धिका लागि संघ,प्रदेश र स्थानीय तहविच सहकार्य भइरहेको बताउँदै प्रवासमा रहेका म्याग्दीलीहरुले जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

मोनामार्फत परिणामुखी क्षेत्रमा लगानीको वातावरण बनाउन आफ्नो तर्फबाट समेत सहयोग हुने सांसद जुग्जालीको भनाई थियो । सांसद जुग्जालीले म्याग्दीमा पछिल्लो एक आर्थिक बर्षमा विभिन्न योजनामा करिब एक अर्ब बजेट भित्रिएको बताउनुभयो ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिका लोकल रक्सी ब्राण्डिङ गर्ने नीति लिएको जानकारी गराउँदै त्यसका लागि आवश्यक लगानी भित्र्याउन प्रवासी म्याग्दीलीहरुलाई आग्रह गर्नुभयो । मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले मोनाको वार्षिक साधारणसभा मंगलामा सञ्चालन गरेर स्थानीय कला संस्कृतिको प्रवद्धन र पर्यटन क्षेत्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी, नेत्र ज्योती संघ म्याग्दीका सभापति अमर बानियाँ, वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका पुर्व अध्यक्षहरु योगेन क्षेत्री, प्रकाश पुन, चक्रबहादुर थापा,ओमनारायण जुग्जाली, साधारणसभा मुल संयोजक मिम पुर्जा , मोना युएईका अध्यक्ष सुवास राम्जाली, स्थानीय व्यवस्थापन उपसमिति संयोजक यामबहादुर थापा लगायतले बोल्नुभएको थियो । श्रीराम पौड्याल र सपना रोका मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।  

Leave a Reply