म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भएको शिविरमा ८७१ लाभान्वित भएका छन् ।

शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोलीले उपचार गरेको शिविर संयोजक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।

‘शिविर उत्साहजनक रुपमा सम्पन्न भयो, बृद्धबृद्धाको आँखाको उपचारपछि धेरै खुसी देखिनुहुन्थ्यो, आगामी दिनमा पनि हामीले शिविरलाई निरन्तरता दिने प्रयास गर्नेछौ’ संयोजक फगामीले भन्नुभयो । शिविरमा आँखाको समस्या देखिएका बिरामीलाई निशुल्क औषधी सहित चस्मा समेत वितरण गरिएको थियो ।

शिविरमा आउनेलाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी शिविरमै तथा थप उपचारका लागि समेत समन्वय भइरहेको छ । शिविरमा मंगला, मालिका, धवलागिरी गाउँपालिकाबाट बिरामी आएको नेपाल नेत्रज्योती संघ म्याग्दीका नेत्रज्योति अधिकृत दिनेश बानियाँले जानकारी दिनुभयो ।

म्याग्दीमा आँखा उपचारका लागि नेत्रज्योतीसँगले जिल्लाका दुर्गम क्षेत्रमा समेत पुगेर शिविर सञ्चालन गर्ने गरेको छ । आँखा शिविर विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको मोनाका अध्यक्ष ददीवल खड्काले बताउनुभयो ।

Leave a Reply