म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२,भुरुङ तातोपानी स्थित कालिगण्डकी नदीमा फसेको गोरूको उद्धार गरिएको छ । बिहिबार दिउँसो नारच्याङको गाडपारबाट कालिगण्डकीले बगाएर ल्याएको गोरूलाई डोरीको सहायताले शुक्रबार दिउँसो बाहिर निकालिएको हो ।

चरन क्षेत्रबाट एक्कासी खसेको गोरू कालिगण्डकी नदीमा अड्किएको अवस्थामा भुरुङ तातोपानीका पर्यटन ब्यवसायी अमृतमान शेरचनले देखेपछि उद्धारका लागि गलेश्वरका रमेश पूर्जालाई बोलाउनुभएको थियो ।

गोरु आँफै कालिगण्डकीबाट निस्कन संभव नदेखेपछि डोरीको सहायताले बाहिर निकालिएको शेरचनको भनाई छ । ’गोरुलाई जोखिम मोलेर निकाल्न सफल यूवा रमेश पूर्जालाई धन्यवाद दिन्छु, गोरु ल्याउन आउनुभएकी महिला समेत भाबुक हुनुभयो‘ शेरचनले भन्नुभयो । कालिगण्डकीमा पौडिएर पुगेका यूवा पूर्जाले डोरीले गोरुलाई बाँधेपछि बाहिर रहेकाले तानेर निकालेका थिए ।गोरु सकुशल निकाल्न सफल भएपछि उद्धारमा खटिएकाहरु खुसी भएका थिए ।

पछिल्लो समय नेपाली समाजमा मानवीयता हराउंदै गएको बेलामा ‘गोरुको उद्धार’ गरेको खवर अनौठो लाग्नु अस्वाभाविक भएपनि आपतविपतमा परेका हरेक प्राणीको उद्धार गर्नु मानवीय धर्म र कर्तव्य हो भन्ने पुष्टी जोखिम मोलेर कालिगण्डकीमा पुगेका पूर्जा र उद्धारका लागि संयोजन गर्नुभएका ब्यवसायी शेरचनले पुष्टी गर्नुभएको छ ।

Leave a Reply