म्याग्दीको मंगला गाउँपालिका-१ कुहूँका एक यूवाले आफ्ना दिवंगत पिताको स्मृतिमा दीपशिखा माविमा अक्षय कोष स्थापना गर्नुभएको छ । जन्मिएको ४ बर्षमै पिता गुमाउनुभएका हाल रोजगारीको सिलसिलामा यूकेमा कार्यरत सन्तोष बरुवालले स्वर्गीय पूर्ण बहादुर बरुवालको नाममा विद्यालयमा डेढ लाख सहयोग गर्नुभएको हो ।

उक्त कोषमा स्व. पूर्ण बहादुर बरुवालका जेठा दाजु भारतीय सेनाबाट निवृत्त धनबहादुर बरुवालले १ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरी २ लाख ५० हजार ५ सय ५५ को अक्षय कोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयो ।

उहाँले समाजसेवी धनबहादुर बरुवाल र गौमती बरुवालको अभिभावकत्व र समाजलाई दिएको सन्देश प्रेणादायी रहेको बताउनुभयो । उक्त अक्षय कोष स्थापनार्थ आयोजित कार्यक्रममा खत्री बरुवाल परिवारको योगदानका बारेमा समेत चर्चा गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रबिन पुनले स्वदेश तथा विदेशमा रहेका कुहुँबासीबाट विद्यालयको भौतिक, शैक्षिक तथा विभिन्न क्षेत्रमा निरन्तर प्राप्त सहयोगले नै विद्यालयको यो उचाईमा पुगेको बताउनुभयो । समुदायस्तरबाट भइरहेको सहयोगले विद्यालयको शैक्षिक, अतिरिक्त क्रियाकलाप सहितका कार्यहरु समेत अगाडी बढेको छ । दिपशिखा माविले मंगला गाउँपालिकामा सामुदायिक विद्यालयतर्फ सवोत्कृष्ट नतिजा पस्किदै आएको छ ।

Leave a Reply