म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक ढोलठान दरबारमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्न आउने पर्यटकलाई आर्कषित गर्न झण्डा राखिएको हो

बिहिबार बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछानेले संयुक्त रुपमा झण्डा फहराएका छन् । बेनी नगरपालिकाका वडाअध्यक्षहरूको क्लवद्धारा १० वटै वडामा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने अभियान अन्तरगत ढोलठान दरबारमा राष्ट्रिय झण्डा राखिएको वडा अध्यक्ष चक्रबाहादुर केसीको भनाई छ ।

पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको र आगामी दिनमा यस क्षेत्रलाई प्राचिन सभ्यताको सुन्दर गन्तब्य बनाउने गरी प्रदेश सरकारसँग सहकार्य गरी बजेट विनियोजन भइरहेको मेयर सुरत केसीले बताउनुभयो ।

यस क्षेत्रमा पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्राहलय बनाउने योजना वडाको रहेको छ । स्थानीयबासीले झण्डाको संरक्षण तथा प्रर्बधन समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा बेनपा–४ का अध्यक्ष अणबहादुर खड्का, बेनपा–६का अध्यक्ष कृष्णसिङ बानियाँ, बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र बेनपा–१० का अध्यक्ष मसबिर रोका लगायतको उपस्थिति रहेको थियो ।

समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि,अन्नपूर्ण, नीलगिरिलगायतदर्जनौंहिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।

Leave a Reply