म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने करीब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोत पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुई तर्फी पदमार्ग निर्माण गरिएको छ । पदमार्ग,प्रवेशद्धार लगाएतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोतस्थित खड्गभवानी परिसर सवैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

यहाँ विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरु निर्माण भैरहेका छन् । बेनी नगरपालिका,गण्डकी प्रदेश सरकार र खड्गभवानी कोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्धार निर्माण, घेराबार, विभिन्न देविदेवताका मन्दिर निर्माण ,टेलिकमको फोर जी टावर निर्माण लगाएतका पूर्वाधारहरु निर्माण भएपछि पहिला पहिला सुनसान देखिने यो स्थल यहीले सबैलाई आकर्षित गर्न सफल भएको छ ।

भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँडीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त रु १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको रु तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दुरीमा फलामको रेलिङ राखिएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिडडुल गर्न सकिनुका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले विश्वास गर्नुभयो ।

त्यसैगरी कन्थराज थानदेखि खड्गभवानी कोतसम्म जाने २ सय ४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अव दुुईतिरबाट नै खड्गवानीकोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

खड्ग भवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।

खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।

Leave a Reply