विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् ।

मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै थकालीलाई नगद १० हजारसहित पुरस्कृत गरेको हो । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयले नगदसहित पुरस्कृत गरेको हो । संविधानसभा सदस्य श्रीमाया थकाली, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेल र एक्यापका कार्यालय प्रमुख प्रमोदराज रेग्मी लगायतका अतिथिहरुले पत्रकार थकालीलाई पुरस्कृत गरे ।

२०७० सालबाट आदर्शसमाज दैनिक पोखरादेखि पत्रकारिता सुरु गरेका पुरस्कृत पत्रकार थकाली समाधान दैनिक, एपीवान टेलिभिजन, अन्नपूर्ण पोष्टमा कार्यरत छन् । राजधानी दैनिक, इमेज टेलिभिजनमा पनि उनले काम गरिसकेका छन् । १२ वर्षदेखि कठिन भूगोलमा रहेर पत्रकारितामा निरन्तर क्रियाशील थकाली इमुस्ताङन्यूज डटकमका सञ्चालक पनि हुन् ।

पत्रकार महासंघ मुस्ताङका अध्यक्ष थकालीले यसअघि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । पर्यटन र शान्ति नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइँदैछ । जोमसोम विमानस्थलमा पर्यटकहरुको स्वागत गरी विमानस्थलदेखि जिल्ला समन्वयसमितिको सभाहलसम्म बाजागाजासहित बजार परिक्रमा गरी प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको छ ।

Leave a Reply