बेनी–जोमसोम सडक खण्डमा हुने कुनै पनि अवरोध तथा भवितव्यमा अग्रपङ्क्तिमा उभिने इन्द्रसिंह शेरचनलाई मुस्ताङमा सम्मान गरिएको छ । आधा शताब्दीदेखि निरन्तर चल्दैआएको थाक खेलकुद तथा सांस्कृतिक महोत्सवको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो ।

मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको थाक खेलकुदको अवसरमा मुस्ताङको थासाङ गाउँपालिका –२ कोबाङ जन्मिएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानामा व्यवसाय गर्दै सामाजिक कार्यमा खट्नुभएका शेचनलाई सम्मान गरेको छ ।

म्याग्दीको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुलाई सहज रुपमा आवतजावत गर्न अहोरात्र खटी मानवीय एवम् सामाजिक सेवामा गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ ।

शेरचन हिमाली जिल्ला म्याग्दीको उत्तरी भेग अनि हिमालपारिको जिल्ला मुस्ताङमा कुनै पनि अप्ठेरो परिस्थिति हुनासाथ सम्झिने नाम हो इन्द्रसिंह शेरचन । बाढी पहिरो तथा अन्य बिपद्का घटनाहरु भए अग्रपङ्क्तिमा पुग्न उहाँलाई कसैले पठाउन पर्दैन । जानकारी पाउनासाथ सुरक्षा निकायलाई जानकारी दिनुका साथै उद्धारमा खट्ने उहाँको मुख्य काम  हो ।

मुस्ताङको थासाङ गाउँपालिका –२, नाउरी कोट घर भई हाल उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानामा मुस्ताङ लेते होटल सञ्चाल गर्नुभएका शेरचनले ८ जनालाई रोजगारी प्रदान गर्नुभएको छ । शेरचनको होटलमा अहिले ८ जनाले रोजगारी पाएका छन् । किचन सहयोगीका रुपमा इन्द्रसिंह शेरचनकै परिवारका अन्य सदस्य पनि छन् ।

मुस्ताङका निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार शेरचन सामाजिक कार्यमा सँधै खट्ने व्यक्ति हुनुहुन्छ । उहाँले आफ्नोभन्दा पनि समाजका जोकसैलाई पनि अप्ठेरो परेको ठाउँमा पुग्नुपर्छ भन्ने मान्यता छ । नाउरीकोटका शेरचन आफ्नो क्षेत्रमा पनि पहिल्यैदेखि सामाजिक सङ्घ संस्थाको अगुवाइ गर्दै आउनुभएको छ ।

वर्षात्को समयमा सडक अवरुद्ध हुँदा शेरचन अहोरात्र समस्यामा परेका नागरिकको उद्धारमा खट्ने गर्नु हुने नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका पूर्व अध्यक्ष सुरत के.सी.को भनाइ छ । २०७६ माघ १६ गते अन्नपूर्ण गाउँपालिकाको खोप्रा क्षेत्रमा चार जना आन्तरिक पर्यटक पदमार्गमा बाटो बिराएर हराउँदा शेरचनले नै अग्रपङ्क्तिमा खटेर उद्धार गर्ने कार्य भएको तत्कालीन म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

Leave a Reply