राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बेनी अस्पताललाई ९ महिनादेखि २ करोड ७५ लाख बक्यौता रकम भुक्तानी गरेको छैन । स्वास्थ्य बिमा कार्यक्रममार्फत लामो समयदेखि भुक्तानी नपाउँदा बिरामीको उपचार तथा औषधि खरिद लगायतका गतिविधि नै प्रभावित भएको छ ।

गत पुस महिना यता बिमाबापत कुनै पनि भुक्तानी नपाइएपछि पटकपटक अनुरोध गर्दा समेत बेवास्ता भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले बताउनुभयो । ‘ठूला अस्पतालले सेवा नै बन्द गरे हामीले अझैपनि आन्तरिक स्रोतबाटै सेवा दिइरहेका छौ, अहिलेको अवस्थामा नियमित सेवामा खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ’ अध्यक्ष सुबेदीले भन्नुभयो ।

बिमा प्रक्रियाबाट आएका बिरामीलाई उपलब्ध सुविधाहरुलाई थप प्रभावकारी बनाउन विमा बोर्डकै कार्यशैलीले समस्या भइरहेको बेनी अस्पतालले जनाएको छ । समयमै भुक्तानी नपाउँदा अस्पतालको सेवा प्रक्रियामै बाधा परेकाले जिल्लामा रहेको कार्यालयमार्फत समेत ध्यानार्कषण गराइएको छ । बिमा बोर्डले निकासा गरेमा बिमाबाट लिइने सेवाहरुकै लागि खरिद गरिन्छ ।

अहिले अस्पतालको आफ्नै आन्तरिक आम्दानीबाट सेवाहरु नियमित सञ्चालन गरिरहेको छ भने करारका स्वास्थ्यकर्मी सहित कर्मचारीको तलबसुविधा, डाक्टरको भत्ता लगायतमा समेत सोही खर्च हुदाँ आर्थिक ब्यवस्थापन गर्न कठिन भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले बताउनुभयो । जिल्लाका स्थानीय तह तथा ब्यक्तिगत रुपमा पनि बिमा गर्नेहरु बढिरहेको अवस्थामा बेनी अस्पतालमा दैनिक उपचारमा आउने बिरामीमा ठूलो हिस्सा बिमाका हुन्छन् ।

 

Leave a Reply