म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका-६ चुत्रेनीमा द मुनसन युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार साँझ सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी कालिपुल यूनाइटेडलाई ०-१ गोलले हराउँदै मुनसन युथ क्लबले उपाधी जितेको हो ।
प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, बेनपा वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, बेनपा–७ का सदस्य सोहन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले वितरण गरेका बेनी नगरपालिका फुटबल संघको सचिव उपेन्द्र गिरीले बेनीअनलाइनलाई जानकारी दिए ।
सोही अवसरमा फेयर प्ले अवार्ड नगद ७ हजार, ट्रफी सहित मालिका गाउँपालिका-६, दरबाङको जनप्रिय भुपु विद्यार्थीको टिमले प्राप्त गरेको छ । प्रतियोगितामा राइजिङ खेलाडी कालिपुल यूनाइटेडका समन पुन, ८ गोल गदैं सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकर कालिपुल यूनाइटेडकाका पुरन छन्त्याल,उत्कृष्ट गोलरक्षक मुनसनका सिजन किसान,उत्कृष्ट प्रशिक्षक कालिपुल यूनाइटेडका अनिष गौचन, उत्कृष्ट मिडफिल्डर मुनसनका सम्रराट लिम्बु, उत्कृष्ट डिफेन्स मुनसनका आशिष केसी र उत्कृष्ट खेलाडी कालिपुल युनाइटेडका रोशन छन्त्याललाई पुरस्कृत गरिएको थियो ।
म्याग्दी जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिताको सहभागिता रहेको थियो । प्रतियोगितामा आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई संघका अध्यक्ष कुमार बानियाँले धन्यवाद दिदैं आगामी बर्ष थप ब्यवस्थित गरी सञ्चालन गरिने बताए ।