नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गित ‘‘ त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ २८ बर्षपछि नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। म्याग्दी जेसिजले निर्माण गरेको नयाँ भर्सनमा गायक गर्बुजा, मिना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । शब्दसंगीत गायक गर्बुजाकै रहेको गीतमा मिलन थापामगर, खम थापा मगर र शेखर घर्ती मगरको मुख्य अभियन गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जममा छांयाङ्कन गरिएको म्यूजिक िभिडियोको डीके चोचाङ्गी पुन मगरले निर्देशन गरेका हुन् । लाहुरे छुट्टिको बेला घर फर्र्किएपछि स्वागतका लागि गाउँले भेला भएको कथालाई देखाइएको छ । गायक गर्बुजाले करिब १५ सयभन्दा बढी गीतमा आवाज दिएकोमा यो गीत सर्वाधिक लोकप्रिय मानिन्छ । यो गीतको क्यासेट तत्कालिन समयमा सर्वाधिक बिक्री भएको गायक गर्बुजाले बेनीअनलाइनलाई बताउनुभयो ।

‘ नयाँ स्वरूपमा गीत आउँदा नयाँ पुस्तामाझमा पुगेको छ, म निकै उत्साहित छु, सबैले मायाँ गरिदिनुहोला’ गायक गर्बुजाले भन्नुभयो । तत्कालिन समयमा यो गीत नेपालमा सर्वाधिक चलेको थियो । धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपांगता भएपछि उनको लाहुरेको सपना गायनतर्फ मोडिएको थियो । वि.स २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षणकर्ता नै गायक गर्बुजा हुनुहुन्छ । विसं २०४७ मा पुनर्स्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ जानुभएका गर्बुजा रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि वि.स २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर वाद्यवादनको कामसमेत गर्नुभएको थियो ।

मादल, बाँसुरी, हार्मोनियम लगायतका वाद्यवादनसमेत बजाउने गर्बुजा विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा दर्जनौ संघसंस्थाबाट सम्मानित हुनुभएको छ । गायक गर्बुजाको हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई, यो नानीले माया लाउँदैन जस्ता चर्चित गीतहरु अहिले पनि गुन्जिन्छन् ।

Leave a Reply